तीन मन्त्रीको टुंगो लाग्यो, खनाल अर्थमन्त्री, अर्याल गृह र घिसिङलाई ऊर्जा


२०८२ भदौ २९ आइतबार २१:५३ बजे

काठमाडौं :  प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको छ । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार, अर्थ मन्त्रालयमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङको नाम टुंगो लागेको हो ।

अर्यालले गृहसँगै कानुन मन्त्रालय सम्हाल्नेछन् । घिसिङले उर्जासँगै भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

गुल्मीको इस्मा घर भएका अर्याल पछिल्लो समय काठमाडौँ महानगरपालिकाका कानुनी सल्लाहकार पनि थिए।  उनले लोकमानसिंह कार्कीको नियुक्ति बदर, गिरिबन्धु टी स्टेटको नीतिगत भ्रष्टाचार प्रकरण, संसद विघटनलगायत चर्चित प्रकरणहरूमा सार्वजनिक सरोकारको रिट दायर गरेका थिए ।

अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने खनाल पूर्वअर्थसचिव हुन्। उनले केही समयअघि मात्र उच्चस्तरीय आर्थिक सुधार सुझाव सिफारिस आयोगको अध्यक्षका रूपमा केपी ओली सरकारलाई ४४७ पृष्ठ लामो प्रतिवेदन बुझाएका थिए।

नेपाललाई लोडसेडिङबाट मुक्त गराएको भनी आमजनतामा लोकप्रिय घिसिङलाई केही महिनाअघि केपी ओली सरकारले नै प्राधिकरणबाट हटाएको थियो। उनको ठाउँमा हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरिएको थियो।

जेन–जी आन्दोलनको दबाबमा निवर्तमान प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएपछि कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी हुन्। उनी नेपालको इतिहासकै प्रथम महिला प्रधानमन्त्री हुन्।

कार्कीले प्रधानमन्त्री पदको शपथ लिएलगत्तै प्रतिनिधिसभा विघटन गरिएको छ भने फागुन २१ गते निर्वाचन गर्ने घोषणा भइसकेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७