आगजनीमा हाम्रो कार्यकर्ता परे कारबाही गर्नू : माओवादी

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)ले जेनजी आन्दोलनका क्रममा देशभर भएका आगजनी र तोडफोडमा माओवादीसँग सम्बन्धित कसैको संलग्ता देखिए कारबाही गर्न सरकारसँग आग्रह गरेको छ।
आइतबार माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले विज्ञप्ति जारी गर्दै त्यस्ता भेटिएमा पार्टीले पनि कडा कारबाही गर्ने उल्लेख गरेका छन्।
जारी विज्ञप्तिमा भनिएको छ, ‘यही उल्लेखित गतिविधिमा हाम्रो पार्टीसँग सम्बन्धित कोही कसैको संलग्नता देखिए हामी कडाभन्दा कडा कारबाही गर्न तयार छौं । तथ्य र प्रमाण फेला परे सरकारले सख्त कारबाही गरोस् भनि आग्रह गर्दछौं।’
कतिपय व्यक्ति र समूहले यस्ता ध्वंसात्मक क्रियाकलापमा माओवादी कार्यकर्ताको संलग्नता भएको भनेर प्रचार गरेको भन्दै माओवादीले आपत्ति समेत जनाउँदै कारबाहीको माग गरेको हो ।