निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ अघि बढ्यो जेनजी आन्दोलन

काठमाडौँ । भ्रष्टाचार तथा कुशासनविरुद्ध आन्दोलनरत नयाँ पुस्ताका युवा (जेनजी)हरूले काठमाडौंमा निषेधित क्षेत्र तोडेका छन् ।
सोमबार विहानैबाट प्रदर्शन गरेका उनीहरूले नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोडेका हुन् ।
जेनजीहरूले संघीय संसद भवन नजिक प्रहरीको बार तोडेका छन् । निषेधित क्षेत्र तोडेर उनीहरू संसद भवनतर्फ अघि बढेका छन् ।
प्रहरी र जेनजीबीच घम्साघम्सी चलिरहेको छ । यद्यपी दुवै पक्ष संयमित भएकाले अहिलेसम्म अप्रिय घटना भने भएको छैन ।
जेनजीको प्रदर्शनलाई ध्यान दिएर काठमाौंमा सुरक्षाकर्मीको उपस्थिती बाक्लो बनाइएको छ ।
सहरका विभिन्न ठाउँबाट माइतीघर मण्डलामा भेला भएका युवाहरू बानेश्वरतर्फ अघि बढेका हुन् ।
भ्रष्टाचार, राजनीतिक बेथिति र नातावादविरुद्ध उनीहरूले प्लेकार्डसहित प्रदर्शन गरिरहेका छन्।
‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘कता हिंडेको ट्याक्स लुटेर ?’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, ‘स्टप करप्सन’ लगायतका नारा लेखेका प्लेकार्ड उनीहरूले बोकेका छन् ।
जेनजीले काठमाडौंबाहिर पोखरा, बुटवल, दाङलगायतका सहरमा पनि प्रदर्शन गरिरहेका छन् ।