ओलीलाई तेस्रोपटक अध्यक्ष हुने बाटो खोलेर सकियो एमाले विधान महाधिवेशन
‘जबजकै जगमा नेपाली विशेषताको समाजवाद’

काठमाडौं : नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई तेस्रोपटक अध्यक्ष हुने वैधानिक बाटो खोल्दै सकिएको छ । दोस्रो विधान महाधिवेशनमा प्रस्तुत भएका प्रतिवेदनहरू सर्वसम्मतले पारित भएपछि ओलीको लागि बाटो खोलिएको हो ।
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सम्पन्न महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदनसहित आयोगका प्रतिवदेनहरू पारित गरेको छ ।
प्रतिवेदन पास गर्नुअघि अध्यक्ष ओलीले समूहगत छलफलमा उठेका समग्र विषयको जवाफ दिएका थिए। त्यसक्रममा उनी झण्डै २ घण्टा बोलेका थिए।
समापन अध्यक्ष ओलीले मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवाद ‘जबज’को जगमा नेपाली विशेषताको समाजवाद अघि सारिएको बताए । अध्यक्ष ओलीले जबजको जगमा नेपाली विशेषताको समाजवादमा पुग्ने बाटो ‘समृद्ध नेपाल, सुखी नेपाली गन्तव्य’ हुने बताए । नेपाली समाजको वर्ग विश्लेषण गर्दै ओलीले भने, 'नेपाली विशेषताको समाजवाद जबजको जगमा अगाडि बढ्न् भनिएको हो । त्यसका लागि समृद्ध नेपाल, सुखी नेपालीलाई गन्तव्यका रूपमा अघि सारिएको हो । यसको अर्थ मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद र जबजलाई छोडेको होइन, सृजनात्मक प्रयोग गरिएको हो ।'
ओलीले ‘राष्ट्रिय स्वाभिमान भन्दा ४ जनाको जागिर ठुलो नभएको जिकिर गरे । उनले सोधेका छन्, ‘अहिले चार जना मानिसको रोजगारी खोसिएको भन्दा देशको स्वाधीनता ठुलो हो, देशको कानुन नमान्ने, संविधान नमान्ने, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता, सार्वभौमसत्ताको कुरालाई नमान्ने पनि कहीँ हुन्छ ?’
अध्यक्ष ओलीले बेथिति र हेपाहा प्रवृत्तिको सदैव विरोधमा उत्रने र देशलाई हेपेको कदापि नसहन बताए । ‘कानुनअनुसार चल भन्न पनि नपाइने ? राष्ट्रलाई अटेरी गर्ने ?संसारमा कुनै देशले यति निरिहता देखाउँछ ? उनले भने।
ओलीले जेनजी’ पुस्ताका नाममा समाजलाई भड्काउन खोजिएको पनि दाबी गरे । कहलिएका बुद्धिजीवीहरूको चिन्तन नै स्वतन्त्र छैन, आफूलाई ठुलो बुद्धिजीवी भन्नेहरूले कस्ता कुराबाट समाजलाई प्रभावित गर्न खोजेका छन् भन्ने देखिएकै छ । पछिल्लो समयमा ‘जेनजी’ पुस्ताका नाममा समाजलाई भड्काउन खोजिएको छ, तर ‘जेनजी’ पुस्ता देशलाई माया गर्छ”, उनले भने ।