ओलीको सम्बोधन : भण्डारीको सदस्यताबारे केन्द्रीय कमिटीमा छलफल हुन्छ

काठमाडौं : दोस्रो विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता बारेको छलफललाई 'निषेध' गरेका नेकपा एमाले अध्यक्ष केपी ओलीले आगामी केन्द्रीय कमिटीमा छलफल गर्ने आश्वासन दिएका छन् ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आइतबार सम्पन्न विधान महाधिवेशनलाई अन्तिममा २ घण्टा लामो सम्बोधन गर्दै यस्तो बताएको महाधिवेशनमा सहभागी प्रतिनिधिले बताएका छन् ।
गत साउन पहिलो साता सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो । त्यसबारे उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, स्थायी कमिटी सदस्य कर्ण थापा लगायतले विरोध गरेका थिए । पछिल्लो समय वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र रामबहादुर थापाले पनि यसबारे मुख खोलेका छन् ।
साथै ३ दिनसम्म चलेको विधान महाधिवेशनमा भण्डारीका पक्षमा धेरै प्रतिनिधि खुलेका थिए। विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्ण थापालाई फरक मत प्रस्तुत गर्न दिने कार्यसूचि थियो । विधान महाधिवेशन अघि बसेको सचिवालय बैठकमा स्थायी कमिटी थापालाई फरक मत राख्न दिने निर्णय भएको थियो ।
तर शनिबार कार्यतालिकाबाट उनले बोल्ने समय हटाइयो । आफूले बोल्न पाउनुपर्ने माग गर्दै उनी आफ्नो सिटमा करिब ३० मिनेट उभिए पनि समय दिइएन । अध्यक्ष ओलीको पूर्वघोषणा र पार्टी सचिवालय बैठकको निर्णय अनुसार थापालाई बोल्न नदिएपछि बरिष्ठ उपाध्यक्ष पोखरेल, रामबहादुर थापा ‘बादल’, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले प्रतिवाद गरेका थिए ।