एभरेष्ट बैंकको सीईओमा दोहोरिए सुदेश खालिङ

काठमाडौँ : एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा सुदेश खालिङ पुनः नियुक्त भएका छन् ।
बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले खालिङलाई दोस्रो कार्यकालका लागि निरन्तरता दिने निर्णय गरेको छ । खालिङको थप ४ वर्षे कार्यकाल असोज ८ गतेदेखि लागु हुनेछ ।
को हुन् खालिङ ?
सुदेश खालिङ एक अनुभवी नेपाली बैंकिङ व्यवसायी हुन् । उनले स्ट्याण्डर्ड चार्टर, सिटिजन्स, लक्ष्मी बैङ्कलगायतमा नेतृत्वदायी भूमिकामा काम गरिसकेका छन् ।
बैंकिङ क्षेत्रमा तीन दशक भन्दा बढीको अनुभव बोकेका खालिङले रणनीतिक योजना, जोखिम व्यवस्थापन, र ग्राहक सेवा सुधारमा उल्लेखनीय योगदान दिएका छन्। एभरेष्टको सिइओ हुनुभन्दा अगाडि खालिङ सिटिजन्स बैंकका सञ्चालक थिए । त्योभन्दा अघि उनी लक्ष्मी बैंकका सिइओ थिए ।
त्यति मात्र नभएर उनी एभरेष्ट बैंकको पहिलो नेपाली प्रमुख कार्यकारी अधिकृत(सिइओ)समेत हुन् । एभरेष्ट बैंकको २५ वर्षे यात्रासम्म भारतीय नागरिक बैंकको सिइओ हुने गर्थे । बैंकले २०७७ चैतमा गजेन्द्रकुमार नेगीलाई बिदाइ गरेसँगै पहिलो नेपाली सिइओ हुने इतिहास खालिङले बनाएका थिए ।
एभरेष्ट बैंकको सीईओमा नियुक्त भएपछि खालिङ २०७९ मा वाणिज्य बैङ्कहरूको छाता सङ्गठन नेपाल बैंकर्स संघको कार्यसमिति सदस्यमा नियुक्त भएका थिए । खालिङसँग ३० वर्षभन्दा बढी बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ ।