भीपीएन प्रयोग गरी सामाजिक सञ्जाल नचलाउनुस् : सञ्चार मन्त्रालय
सबै सामाजिक सञ्जालहरूलाई नेपालमा सम्पर्क बिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन अनुगमन गर्ने अधिकारी तोकेर सूचीकरण हुन मन्त्रालयको पुनः आह्वान

काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गरेर सामाजिक सञ्जाल नचलाउन आग्रह गरेको छ ।
आइतबार मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले विज्ञप्ति जारी गरेर मन्त्रालयले सार्वजनिक सूचना जारी गरे पनि तोकिएको समयसीमाभित्र सम्पर्क नगरेका सामाजिक सञ्जाललाई नेपालभित्र निष्क्रिय पारिएको जानकारी दिएका छन् ।
हालसम्म हाम्रो पात्रो र ग्लोबल डायरी प्रालि सूचीकरण भई सक्रिय भइसकेका छन् भने एक्स र वी च्याटले सूचीकरणका लागि आवश्यक जानकारी माग गरेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले सूचीकरण नभएका सामाजिक सञ्जालहरूको पहुँच निषेध भइसकेको भन्दै यस्ता सञ्जाल चलाउन असुरक्षित र जोखिमपूर्ण भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) प्रयोग नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ बमोजिम सात दिनको म्याद दिई सूचीकरणका लागि आह्वान गरेको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रालयले सार्वजनिक सूचना जारी गरे पनि तोकिएको समयसीमाभित्र सम्पर्क नगरेका सामाजिक सञ्जाललाई नेपालभित्र निष्क्रिय गराइएको र हाम्रो पात्रो र ग्लोबल डायरी सूचीकरण भएका छन् ।’
मन्त्रालयले सूचीकरणका लागि कुनै शुल्क नलाग्ने र सूचीकरण हुनेबित्तिकै पुनः सक्रिय गराइने जानकारी दिएको छ। साथै, मन्त्रालयले सबै सामाजिक सञ्जालहरूलाई नेपालमा सम्पर्क बिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन अनुगमन गर्ने अधिकारी तोकेर सूचीकरण हुन पुनः आह्वान गरेको छ।