राजावादीले पुस्तान्तरण गरेर नातीलाई जुम्ला घुमाए : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बहसलाई वैचारिक ढंगबाट अघि बढाउन आवश्यक रहेको बताएका छन् ।
आज (शनिबार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले बहस वैचारिक ढंगले भन्दा व्यक्ति केन्द्रित भइरहेको टिप्पणी गरेका छन् । पुस्तान्तरण जरुरी रहेको तर विचारसहितको पुस्तान्तरण आजको आवश्यकता भएको उनले बताएका छन् । पुस्तान्तरण मात्रै भन्दा राजावादीहरुले पूर्वराजा ज्ञानेन्द्र शाहका नातीलाई अघि सारेको भन्दै उनले समेत व्यङ्ग्य गरे ।
‘बहसलाई वैचारिक ढंगले अघि बढाउनुस्, व्यक्ति केन्द्रित बढी भइरहेको छ । पुस्तान्तरण हुनु त पर्छ तर विचारसहितको पुस्तान्तरण हुनुपर्छ,’ भट्टराईले भने, ‘पुस्तान्तरण भन्दा राजावादीहरूले समाति हाले । नातीलाई त लगेर घुमाए नि जुम्लामा गएर । त्यो पुस्तान्तरण गरे उनीहरूले । तपाईंहरूको तर्क त्यही कारण हुँदैन । कुरा मात्रै गरेर हुँदैन ।’
नयाँ विचारसहितको नयाँ पुस्ता आवश्यक रहेको बताउँदै भट्टराईले विविधतायुक्त, आर्थिक, सामाजिक अवस्थालाई माथि उकास्ने गरी अघि बढ्न जरुरी रहेको बताए ।
‘नयाँ विचारसहितको नयाँ पुस्ता आवश्यक छ । नेपाल जस्तो देशमा धेरै विविधतायुक्त, आर्थिक, सामाजिक रुपमा पछाडि परेको । भूराजनीतिक रुपबाट चेपुवामा परेको । अहिले देखिहाल्नुभयो, लिपुलेक प्रकरण,’ उनले भने, ‘सम्पूर्ण देशलाई एकतावद्ध राख्न, छिटो आर्थिक विकास गर्न र सबैलाई न्यायको प्रत्याभूति गराउन अलिकति लेफ्टर्स सेन्टर डेमोक्रेटिक फोर्स चाहिन्छ ।’