प्रचण्डलाई जनार्दनको जवाफ : शेषनागले काँध फेर्दैमा पृथ्वी हल्लिँदैन

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लक्षित गर्दै ‘शेषनागले पृथ्वी बोक्ने कुरा दन्त्यकथा भइसकेको’ टिप्पणी गरेका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो घुमाउरो जवाफ दिएका हुन् ।
उनले शेषनागले पृथ्वी कहीं पनि नबोकेको टिप्पणी गरेका छन् । शेषनाग हल्लिँदा भूकम्प आउँछ भन्ने नसोच्न उनले चेतावनी दिए । विज्ञानले पृथ्वी किन हल्लिन्छ भन्ने पुष्टि गरिसकेको उनले बताए ।
‘शेषनागले कहीं पृथ्वी बोकेको पनि छैन । शेषनागले पृथ्वी बोकेको पनि हुँदैन । त्यो त दन्त्यकथा हो’, उनले भने, ‘शेषनागले पृथ्वी बोकेको छ, त्यसले यसो हल्लाइ दियो भने भूकम्प आउँछ भन्ने त दन्त्यकथा हो । आज त विज्ञानले अर्कै पुष्टि गरिसक्यो । त्यसकारणले यो पृथ्वी चल्छ, केही ढल्दैन ।’
पृथ्वी कसैले छोड्दैमा नढल्ने उनले टिप्पणी गरेका छन् । केहि दिनअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको निर्देशन सबैले मान्नु पर्ने र यदि कसैले पार्टी हित विपरित गतिविधि गरे अब कारवाही हुने चेतावनी दिएका थिए । अध्यक्ष प्रचण्डले शर्मालाई लक्षित गर्दै कारवाहीको चेतावनी दिएपछि उनले आज यस्तो जवाफ फर्काएका हुन् । नेकपा माओवादी केन्द्रमा शर्माले लगातार नेतृत्व हस्तान्तरणको विषय उठाउँदै आएका छन् ।