भूमि विधेयक पारित गराउन सरकारले गौरहत्या काण्डको तरबार चलायो : जसपा नेपाल
भूमि विधेयकविरुद्ध विरोध प्रदर्शन थाल्ने

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले सरकारले भूमि विधेयक पारित गराउन गौरहत्या काण्ड ब्युँताएको आरोप लगाएको छ ।
काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै प्रवक्ता मनिष सुमनले सर्वोच्चको आदेशलाई पालना गर्दै यो समस्या समाधान गर्नुपर्छ भनेर लागिरहेको बताएका छन् ।
उनले भने, ‘राज्यले किन गौर हत्याकाण्डको तरबार चलाइरहन्छ भनेपछि अहिले आएर हाम्रो ठम्याइ के छ भने भूमिसम्बन्धी विधेयक कृषि समितिले बहुमतको आधारमा पारित गरेर संसदमा छलफलको लागि पठाएको छ । त्यसमा प्रधानमन्त्रीको बेग्लै मनसाय देखिन्छ । लिची बगान प्रकरणमा नाम आएका मन्त्री ज्यूलाई अर्को मन्त्रीले राजीनामा दिनुपर्ने, तर अहिलेका भूमि मन्त्रीले राजीनामा दिनु नपर्ने । त्यही प्रकरणमा एउटा पार्टीको केन्द्रीय अध्यक्षकै नाम मुछिए पनि तिनीमाथि कारबाही नहुने, सबै कारबाहीहरूलाई गोप्य राखेर जबरजस्ती फास्ट ट्रयाकमा त्यो विधेयकलाई पारित गर्ने दुष्प्रयास गरिएको छ ।’
उनले भूमि विधेयकले सिङ्गो देशलाई मरुभूमि बनाउने पनि बताएका छन् । गौर हत्याकाण्डमा राज्यले आयोगका रिपोर्टहरूलाई लुकाउने, गोप्य राख्ने गरेकाले सम्मानित अदालतले फेरि त्यसलाई छानबिन गर भन्नुपरेको बताए ।
उनले थपे, ‘उपेन्द्र यादवले यो देशमा न्यायका कुरा गरे, यो सरकारको विरोध गरे, यो सरकारको गलतलाई गलत ठहर्याएपछि सरकारको मुखियाहरूले गौर हत्याकाण्ड कोट्याइरहे । यस पटक त्यसलाई कानुनी रूप दिएर, अदालतबाटै आदेश गराएर सरकारले त्यो ब्युँताउने दुष्प्रयास गरेको छ ।’
भूमि विधेयकविरुद्ध विरोध प्रदर्शन थाल्ने
जसपा नेपालले संसदबाट हालै पारित भूमिसम्बन्धी विधेयकाविरुद्धमा विरोध प्रदर्शन गर्ने भएको छ । जसपाले शनिबार पार्टीका विभिन्न समितिलाई सर्कुलर गर्दै विरोधको तयारी थाल्ने निर्देशन दिएको हो ।
जसापाले भदौ ९ देखि १५ गतेसम्म भूमि विधेयकविरुद्ध देशका विभिन्न सहरहरुमा विरोध प्रदर्शन गर्ने बताएकोछ । विधेयकले तराई-मधेसलाई मरुभूमिकरणमा लैजाने जसपा नेपालको भनाइ छ ।
सर्कुलरमा भनिएको छ, ‘भूमि सम्बन्धि विधेयक मुलुक र जनताको हितमा नरहेको, भू–माफिया, जग्गा दलालको हित हुने र यसबाट वन जंगल विनाश भई तराई-मधेस मरुभूमिकरण हुनेगरी सरकारले ल्याउन लागेको भूमि सम्बन्धि विधेयकको जसपा नेपाल सुरुदेखि नै विपक्षमा रही विरोध गर्दागर्दै पनि संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट २०८२ भाद्र ५ गते सरकारले राष्ट्रियहीत विपरीत रहेको विवादित भूमि विधेयकको प्रक्रिया अगाडि बढाएपछि जसपा नेपालको केन्द्रीय सचिवालय बैठकले वन क्षेत्रको जग्गामा हुने अतिक्रमण रोक्न एवं जैविक विविधता र पर्यावरणको संरक्षण गर्न, तराई-मधेसलाई मरुभूमिकरण हुनबाट जोगाउन तथा जल, जंगल र भूमिको रक्षा गर्न ‘भूमि र वन बचाउँ, मधेसलाई मरुभूमिकरण हुनबाट जोगाउँ’ अभियान अन्तर्गत भूमि विधेयकविरुद्ध कडा प्रतिकार गर्ने र विरोधमा उत्रिने निर्णय गरेबमोजिम यही भाद्र ९ देखि १५ गतेसम्म भूमि विधेयकविरुद्ध देशका विभिन्न सहरहरुमा ब्यापक विरोध प्रदर्शन गर्न जसपा नेपाल सम्बद्ध सम्पूर्ण समितिहरु एवं पार्टी पंक्तिलाई निर्देशन गर्दछौँ ।’