पदको लोभ : अरुण गाउँपालिकामा वडाध्यक्ष थापा आफै बने विव्यस अध्यक्ष


२०८२ भदौ २ सोमबार १५:१५ बजे

भोजपुर । अहिले जिम्मेवारी वहन गर्ने भन्दा पनि पद ओगट्ने प्रवृतिले कुनै पनि क्षेत्रमा नतिजा निस्किने काम नहुने गरेको गुनासो हुने गरेको छ । अरु त अरु भोजपुरको अरुण गाउँपालिकाका एक जनप्रतिनिधिमा पनि पदको भोक अति देखिएको स्थानीयले टिप्पणी गरेका छन् ।

भोजपुरको अरुण गाउँपालिका–७ का वडाध्यक्ष कुमार थापा आफै नियम विपरित सामुदायिक विद्यालयको व्यवस्थापन अध्यक्षमा बनेका छन् । गत असारमा भएको विद्यालय व्यवस्थापन समितिको भेलामा सो वडाको एक मात्र प्रस्तावित सगरमाथा माध्यमिक विद्यालयको अध्यक्षमा थापा आफै चुनिएका हुन् ।

यस विद्यालयले पछिल्लो एसईई परीक्षामा शतप्रतिशत नतिजा ल्याएर पालिकाको नै प्रथम विद्यालय बनेको थियो । विद्यालयको रेखदेख र आवश्यक निर्देशन दिनुपर्ने वडाध्यक्ष थापा आफै समितिको अध्यक्ष भएसँगै शिक्षाको गुणस्तर खस्किनेमा अभिभाकहरु चिन्तित छन् ।

‘विद्यालयमा प्रत्यक्ष राजनीतिक हस्तक्षेप देखिँदैछ । योग्य अभिभावकहरू हुँदाहुँदै कानुन विपरीत बलजफ्ती वडाध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको नेतृत्व सुम्पनु उपयुक्त भएन’ एक अविभावकले गुनासो गरे । 

विद्यालयका लागि जग्गादान गरेका टेकबहादुर बस्नेत वडाध्यक्ष समितिको अध्यक्ष बन्नु मर्यादा विपरित हुने बताउँछन् । ‘वडाध्यक्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्नु कुनै दृष्टिकोणले पनि उपयुक्त भएन । वडाध्यक्ष आफै अनुगमन गर्ने र आफै अनुगमन हुने संस्थाको अध्यक्ष हुन सक्दैन । अध्यक्षको बालबच्चा पनि यस विद्यालयमा पठनपाठन गर्दैनन् । विद्यालयमा हुने गतिविधि पारदर्शी र निष्पक्ष होला भन्न सकिन्न ।’

थापा अरुण गाउँपालिकाको सामाजिक विकास समितिका संयोजक र वडा शिक्षा समितिका अध्यक्ष समेत हुन् । २०८० भदौमा विभिन्न विद्यालयका व्यवस्थापन समितिका अध्यक्षहरूले निर्वाचित वडाध्यक्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न नपाउने माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए । 

उक्त रिटमा २०८१ साउन १६ गते अदालतले पूर्णपाठ सार्वजनिक गर्दै ‘वडाध्यक्ष आफै अनुगमन गर्ने र आफै अनुगमित हुन सक्दैन’ भन्दै सर्वोच्चले पनि जनप्रतिनिधिलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न नसक्ने फैसला गरेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७