गगन–विश्वप्रकाशले पनि गरेनन् उपसभामुख हटाउन हस्ताक्षर, शेखर समूहबाट बडू मात्रै

काठमाडौं । उपसभामुख इन्दिरा राना मगरलाई हटाउने प्रयोजनका लागि भएको हस्ताक्षरमा नेपाली कांग्रेस विभाजित बनेको छ । कांग्रेसका नेता शेखर कोइरालाको पक्षबाट जम्मा एक जना मात्रै सांसदले उपसभामुख हटाउने पक्षमा हस्ताक्षर गरेका छन् । कोइरालाको पक्षबाट सांसद दिलेन्द्र बडुले मात्रै हस्ताक्षर गरेका हुन् ।
उपसभामुख रानालाई पदबाट हटाउन भन्दै सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदलाई खाली पानामा हस्ताक्षर गरिरहेका छन् । यो हस्ताक्षर गर्ने विषयमा नेपाली कांग्रेसभित्र भने मतभेद देखिएको हो ।
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा कांग्रेस सांसदलाई आकस्मिक रुपमा उपस्थित हुन भन्दै हस्ताक्षरका लागि डाकिएको थियो । नेपाली कांग्रेस संसदीय दलमा ८८ सांसदमध्ये कोइरालाको पक्षमा १६ जना सांसद रहेको उनी पक्षधरका नेताहरूले बताउँदै आएका छन् ।
मंगलबार भएको हस्ताक्षरमा बडू मात्रै उपस्थित भएका हुन् । यस्तै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पनि मंगलबार हस्ताक्षर गरेनन् । महामन्त्री थापा उपसभामुख रानालाई हटाउनका लागि हस्ताक्षर गर्ने निर्णय भएको सोमबार साँझको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा पनि सहभागी थिएनन् ।
महामन्त्री थापाको पक्षमा रहेकी सांसद सपना राजभण्डारीले भने हस्ताक्षर गरेकी छिन् । यसअघि पोहोर भदौ २५ गते पनि उपसभामुख रानालाई हटाउने तयारी नेताहरूले गरेका थिए । त्यसबेला पनि शेखर कोइरालाले असहमति जनाएपछि रोकिएको थियो । कोइराला निकट सांसद सञ्जय गौतमले उपसभामुखलाई हटाउनका लागि भनेर हस्ताक्षर गर्ने भनेर कुनै सल्लाह नभएको जानकारी दिए ।
‘उपसभामुखलाई हटाउने भनेर हस्ताक्षर संकलन भइरहेको छ भन्ने कुरा समाचारहरू पढेर थाहा भयो,’ उनले भने, ‘हामीलाई यसबारे कुनै सल्लाह पनि गरिएको छैन थाहा पनि छैन । त्यसैले हस्ताक्षर गर्न पनि गइएको छैन गइँदैन । कम्तिमा के कुरा हो, विषय के हो भन्नेबारे त सरसल्लाह त हुनुपर्ला नि ।’