भारतको डुवर्स क्षेत्रमा कमान बसाल्ने नेपालीहरूको कथा ‘उरमाल’लाई मदन पुरस्कार
जगदम्बा-श्री प्रेमदेव गिरीलाई

काठमाडौँ : छुदेन काविमोको पुस्तक ‘उरमाल’लाई मदन पुरस्कार– २०८१ प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीको शुक्रबारको बैठकले ‘उरमाल’ उपन्यास लाई मदन पुरस्कार– २०८१ प्रदान गर्ने निर्णय गरेको हो ।
यसैगरी लोकभाका संकलन र संरक्षणमा विशिष्ट योगदान पुर्याएकामा ‘प्रेमदेव गिरी’लाई जगदम्बा श्री पुरस्कार दिने निर्णय गरेको छ ।
उरमाल उपन्याको कथा दार्जीलिङ नजीकैको डुवर्स क्षेत्रको हो। चिया रोपेर कमान बसाल्ने आदिवासी र नेपालीहरूको कथा हो यो।
के छ उरमालको कथामा ?
उरमालको कथा दार्जीलिङ नजीकैको डुवर्स क्षेत्रको हो। चिया रोपेर कमान बसाल्ने आदिवासी र नेपालीहरूको कथा हो यो। गोर्खाल्यान्ड आन्दोलन र चियाको कथाबीच निकै गहिरो सम्बन्ध छ। चियाले दार्जीलिङको पाँच पुस्ताको इतिहास बोकेको छ। यस हिसाबले अहिले पनि हाम्रो इतिहास र संस्कृति चियासँग जोडिएको छ। कसैले राजनीति गर्नुपर्यो भने सबैभन्दा प्राथमिकता चिया कमानलाई दिन्छ। किनभने जहाँ आर्थिक अभाव छ, त्यहाँ पुगेर राजनीति गर्न सजिलो हुन्छ।
इतिहास हेर्दा जहिले पनि गोर्खा आन्दोलनको नारा ल्याउँदा सबभन्दा पहिला चिया कमानको कुरा उठाइएको देखिन्छ। सुवास घिसिङले पहिलो चोटि गोर्खा आन्दोलनको नारा ल्याउँदाखेरि शुरूमै चिया कमान उखेलेर फ्याँक्नुपर्छ भन्ने लाइनबाट संगठन शुरू गरे। उनी कमानको मान्छेलाई दास बनायो भन्ने शब्द बारम्बार प्रयोग गर्थे। तर सत्तामा पुगेपछि उनले कमानलाई बिर्सिदिए।
सुवासपछि विमल गुरुङ आए, उनलाई पनि कमान चाहियो। किनभने सबैभन्दा सजिलो त्यहींका मान्छे थिए। उनी पनि अन्तिमसम्म ‘म कमानेको छोरा हो। तिमीहरूको समस्या बुझ्छु’ भन्थे। तर अहिलेसम्म कमानेका समस्या यथावत् छन्। यसरी सत्तामा पुग्न कमान एउटा सुरक्षित ठाउँ भइदियो। जति वेला आन्दोलन हुन्थ्यो, त्यति वेला दार्जीलिङले डुवर्सलाई तान्ने कोशिश गर्थ्यो। किनभने डुवर्स पनि जोडिएपछि आन्दोलनको आकार ठूलो देखिन्थ्यो।
एक हिसाबले डुवर्सलाई प्रयोग गरेको देखियो। आन्दोलनमा डुबर्सलाई जोडिन्थ्यो, तर सत्तासँग सम्झौता गरिएसँगै तिनलाई भुसुक्कै बिर्सने गरिन्थ्यो। घिसिङको पालामा दागोपाप (दार्जीलिङ गोर्खा पार्वत्य परिषद्) बन्यो, डुवर्सलाई पाखा राखियो। विमल गुरुङले जीटीए (गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन)मा सम्झौता गरे, उनले पनि डुवर्स फ्याँकिदिए। मैले उरमालमा बारम्बार प्रयोग मात्र भएका यिनै डुवर्सवासीका कथा उधिनेको हुँ।
मैले उपन्यासमा राजनीतिक कुरा कम परोस्, सामाजिक, सांस्कृतिक कुरा बढी आओस् भनेर यो पक्ष धेरै काटेको थिएँ। तर त्यहाँको समाज नै यसरी बनेको छ कि कहीं न कहीं गएर आन्दोलनसँग ठोक्किइहाल्छ। त्यसैले गोर्खाल्यान्ड र कमानलाई छुट्याउन खोज्दाखोज्दै पनि नछुट्टिने रहेछन्। मैले जुन समाजमा बसेर यी कथा लेखें, त्यो समाजको पीडा देखाउनुपर्छ भन्ने हिसाबले पनि त्यो आयो होला। तर राजनीतिक रूपमा डुवर्सदेखि दार्जीलिङसम्मका सबै चिया कमानको अवस्था एउटै हो।
भारतको राजनीति तपाईंलाई थाहै छ। केन्द्रको कुरा गरौं या राज्य या प्रशासनको, सबैले कमानेहरूलाई भोटब्यांकका लागि मात्रै प्रयोग गर्ने हुन्। गोर्खाल्यान्ड आन्दोलन सन् १९८० को दशकमा ठूलो भयो। पछिल्लो चोटि तेस्रो पटक पनि १०५ दिन लामो आन्दोलन भयो। यति लामो कालखण्ड पहिचान र अस्तित्वको लडाइँ चल्यो। तर डुवर्सवासीहरूको अवस्था एकदमै दर्दनाक छ।
हिजो केन्द्रमा कंग्रेसको सरकार थियो। पश्चिम बंगालमा कम्युनिस्टले ३५ वर्ष शासन चलायो। अहिले केन्द्रमा भाजपा छ। पश्चिम बंगालमा तृणमूल कंग्रेस छ। तर कमानेहरूको अवस्थामा कुनै परिवर्तन छैन। २०० वर्ष पुगिसक्दा पनि उनीहरूले अझैसम्म न्यूनतम अधिकार पाएका छैनन्। बसिरहेको घर पनि आफ्नो नाममा छैन। पैसा कमाइहाले पनि तिनलाई त्यो जमीनमा घर बनाउने अधिकार छैन।
-उपन्यासकार छुदेन काविमोको लेखबाट