‘वीपीको पालाको जस्तो कांग्रेस बनाउन म सभापति बन्नै पर्ने अवस्था आयो’

सिरहा । सत्ता साझेदार नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा प्रतिनिधिसभा सदस्य डा. शशांक कोइरालाले १५ औं महाधिवेशन आफू कांग्रेसभित्रको गुटबन्दी अन्त्य गर्न सभापतिमा उठ्ने बताएका छन् ।
कांग्रेसका पूर्व महामन्त्री कोइरालाले बीपी कोइरालाका पालाको जस्तो कांग्रेस बनाउनका लागि आफू पार्टी सभापति बन्नै पर्ने अवस्था आएको बताए ।
आज (शुक्रबार) कांग्रेस जिल्ला पार्टी कार्यालय धनुषामा नेता–कार्यकर्ता भेटघाट गर्दै उनले गुटबन्दीले कांग्रेसको अवस्था दिनदिनै बिग्रिँदै गएकाले त्यसलाई आफू बाहेक कसैले अन्त्य गर्न नसक्ने दाबी गरे ।
उनले भने, ‘मैले बीपी कोइरालाका पालाको जस्तो कांग्रेस बनाउन खोजेको छु । त्यही कारणले म नेपाली कांग्रेसको सभापति बन्न पर्छ । म लाखौ कमाउने मान्छे हो मैले त्यो छोडेर राजनीतिमा आएको हो । मलाई कुनै लोभ छैन् । म त नेपाली कांग्रेस बलियो बनाएर नेपाल र नेपालीको सेवाका लागि आएको हो ।’
उनले भने, ‘बीपी १४ वर्ष जेल बस्नुभयो । पिताजी कृष्णप्रसाद कोइरालाले जेलमा नै मृत्युबरण गर्नुभयो । कृष्णप्रसाद कोइरालाको हजारौ विगाह जमिन थियो । आफूलाई कुनै अपुग नभएको मान्छे नेपाल र नेपालीका लागि जेलमै मृत्युबरण गर्न तयार हुनुभयो । त्यही भएकाले भोलिका दिनमा महाधिवेशनमा मलाई तपाईहरुको सहयोगको अपेक्षा राखेको छु । सहयोग गर्नुहोला म तपाईहरुले खोजेको कांग्रेस बनाएरै छाड्छु।’
‘अहिले म देशभरि नेता–कार्यकर्ता भेटिरहेको छु । गठबन्धनले गर्दा कांग्रेसका धेरै नेता–कार्यकर्ताहरू अवसरबाट वञ्चित हुनु परेको छ,’ उनले भने, ‘म गठबन्धनको घोर विरोधी मान्छे हुँ । बैशाखी चाहिन्छ भने पार्टी किन चलाउनु हुन्छ ? आफैं हिंड्नु पर्छ । कांग्रेसलाई एकजुट पार्नुपर्छ । बलियो बनाउनु पर्छ । टिकट एक जनाले पाउँछ सबै हराउन भिड्छ अनि हारिहाल्छ नि । म सभापति भएपछि यस्तो अवस्था हुँदैन ।’ प्रभावशाली नेताहरू बसेर टिकट नबाँडेर विकेन्द्रीकरण गरी वडा, पालिका, क्षेत्र र जिल्ला सभापतिहरूको सल्लाहअनुसार टिकट दिनुपर्ने उनले बताएका छन् ।
कांग्रेसका भातृ संघहरू अस्तव्यस्त भएको र क्रियाशिल सदस्यता वितरण सही तरिकाले नभएको उनले सुनाए । कतिपय वडामा क्रियाशील जति भोट चुनावमा नआएको उनको भनाइ छ ।
कांग्रेसको विधानमा निर्वाचनसम्बन्धी व्यवस्थामा संशोधन गर्नुपर्ने उनले बताए । ‘वडा इकाइदेखि केन्द्रीय तहसम्म एउटै सभापति पदमा मात्रै निर्वाचन हुनुपर्छ । सबै पदमा निर्वाचन गराउँदा गुटबन्दी बढ्छ । जसले गर्दा आम चुनावमा अन्तर्घात हुने गरेको छ,’ उनले भने, ‘एउटै सभापति पदमा चुनाव हुनुपर्छ । काम गर्न नसकेपछि फेर्नुपर्छ ।’ सबै कुरा विधानमै लेखेर नभई व्यवहारमा देखाउनुपर्ने उनको कथन छ । एसियामै पहिलो महिला मन्त्री बनाएर बीपी कोइरालाले उदाहरण दिइसकेको उनले बताए ।
’मधेसमा कांग्रेस बलियो हुन्छ, तब सरकार ठीक रहन्छ। मधेसमा विभिन्न दलहरू आएको छ। कांग्रेस छिनभिन भएको छ। स्खलित भएको छ। मधेसमा हामी किन फोकस गर्न सकेनौं। मलाई छक्क लाग्छ। आउने दिनमा मेरो फोकस मधेसमा हुन्छ। मधेस नै हो कांग्रेस जग यहीँबाट उत्पति भएको हो। बीपी कोइरालादेखि धेरै नेता मधेसकै हो। हामी कहिले पनि मधेसलाई उपेक्षित गर्नु हुँदैन। मधेसमा बलियो भएपछि कांग्रेसको जग बलियो हुन्छ,’ उनले भने।
स्थानीय नेता–कार्यकर्ताले अधिवेशन कहिले हुन्छ? भनेर प्रश्न गरेका थिए। त्यसको जवाफ दिँदै उनले आफूले पनि सभापति शेरबहादुर देउवालाई यही प्रश्न सोधेको बताए।
’मैले चुनावको एक वर्ष अगाडि अधिवेशन गरौं भने त्यो त अब सम्भव छैन। त्यसपछि तपाईँ प्रधानमन्त्री भएर गर्नुस् भनेपछि देउवाजी त्यसमा सहमत हुनुभयो। तर, उहाँलाई प्रधानमन्त्री ओलीजीले बन्न दिन्छ कि दिँदैन। मेरो सभापतिले भनेपछि मैला विश्वास गरेको छु,’ उनले भने।