भारत र चीन समझदारीले नेपालको सार्वभौमिक अखण्डतामाथि गम्भीर आघात : समाजवादी मोर्चा

काठमाडौँ : माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टी र नेपाल समाजवादी पार्टीको साझा मोर्चाले भारत र चीनले गरेको समझदारीले नेपालको सार्वभौमिक अधिकारमाथि गम्भीर आघात भएको निष्कर्ष निकालेको छ ।
मोर्चाले शुक्रबार विज्ञप्ति जारी गरी भारत र चीनले लिपुलेकलाई व्यापारिक नाका बनाउने सहमतिको विरोध गर्दै भनेको छ, ‘लिपुलेकबारे भारत र चीनले गरेको समझदारीले नेपालको सार्वभौमिक अधिकार माथि गम्भीर आघात पुगेको छ ।’
विज्ञप्तिमा समाजवादी मोर्चाका तर्फबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द र नेपाल समाजवादी पार्टीका महेन्द्रराय यादवले हस्ताक्षर गरेर भारत र चीनको सहमतिको बिरोध गरेको हो ।
‘ऐतिहासिक प्रमाण र दुई पक्षीय सन्धिहरूले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अभिन्न अंग हो भन्ने पुष्टि गर्दछ । नेपालको अभिन्न भूभागका रूपमा रहेका ती क्षेत्रहरूमा विगत केही समयदेखि भारतीय पक्षको अतिक्रमण जारी छ,’ मोर्चाले भनेको छ, ‘यस विषयमा नेपालको तर्फबाट कूटनीतिक पहल गरेर नेपालको भूभाग फिर्ता ल्याउन आवश्यक प्रयत्नहरू हुन सकेका छैनन् । यसैबीच लिपुलेकबारे भारत र चीनले गरेको समझदारीले नेपालको सार्वभौमिक अधिकारमाथि गम्भीर आघात पुगेको छ ।’
समाजवादी मोर्चाले सरकारलाई कूटनीतिक पहलबाट सम्बन्धित मुलुकहरुलाई नेपालको तर्फबाट सत्य–तथ्य जानकारी गराउन पनि माग गरेको छ । ‘सरकारलाई कूटनीतिक पहलबाट सम्बन्धित मुलुकहरुलाई नेपालको तर्फबाट सत्य–तथ्य जानकारी गराउन, उक्त सहमतिको विरोध गर्न र नेपालको भूभाग फिर्ता ल्याउन पहल गर्न आह्वान गर्दछ,’ मोर्चाको विज्ञप्तिमा भनिएको छ ।