रविमाथि ओलीको आक्रोश : ठगी आफूू गर्छन्, गाली हामीलाई गर्छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र रास्वपाका नेता–कार्यकर्तामाथि आक्रोश व्यक्त गरेका छन् ।
पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले ठगेका कारण सात वटा अदालतले थुनेको व्यक्तिले आफूलाई गाली गरिरहेको टिप्पणी गरेका छन् ।
उनले भने, ‘अहिले मान्छेहरु लहलहैको पछाडि कुदेका छन् । नयाँ भन्नेको पछि मान्छे कुँदेका छन् । करोडौ ठगी गरेको छ । सबैतिर सहकारी ठगी गरेको छ । सात वटा अदालतले छाडेर कारबाही गर्न हुँदैन । थुन्नु पर्छ भनेर फैसला गरेको छ । गाली हामीलाई गर्छन्, ठगी आफू गर्छन् । त्यस्ताका पछि पनि मान्छे कुदेका छन् ।’
उनले इज्जत कमाउन गाह्रो भए पनि जान धेरै समय नलाग्ने बताएका छन् । उनले थपे, ‘तपाईहरूले जुन पार्टी छाड्नु भयो त्यस्ताको पछि पनि अझै मान्छे छन् अलिअलि । कस्तो अचम्म ? अझै अलमल गरिरहेका छन् । इज्जत कमाउन गाह्रो छ । गुमाउन सजिलो छ । एउटा बदमासी गर्यो भने जीन्दगीभरी बनाएको इज्जत एकै पटक ध्वस्त हुन्छ।’ उनले आफू नेतृत्वको सरकारले देश विकासको पक्षमा काम गरिरहेको दावी समेत गरेका छन् ।