हिजो देउवाले पार्टी प्रवेश गराएका यादवको आज सदस्यता खारेज


२०८२ श्रावण ३० शुक्रबार १९:५३ बजे

काठमाडौं । हिजो मात्रै सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका देवेन्द्र यादवको आज (शुक्रबार) सदस्यता खारेज भएको छ । 

फरार अभियुक्तलाई पार्टी प्रवेश गराएको भन्दै आलोचना भएपछि कांग्रेसले आज नै निष्काशन गरेको हो । आज मुख्यसचिव कृष्णप्रसाद पौडेलले यादवलाई पार्टीबाट निष्काशन गरिएको जानकारी गराएका छन् । यादव सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्याका अभियुक्त हुन् ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘केही साथीहरूले महोत्तरीका देवेन्द्र यादवलाई लिएर कार्यकक्षभित्र प्रवेश गरी पार्टी सदस्यता प्रदान गर्न आग्रह गरे बमोजिम नेपाली कांग्रेसका सभापतिले निजलाई सदस्यता प्रदान गर्नु भएको हो । तर बुझ्दै गर्दा निज व्यक्ति उपर फौजदारी कानुनी कारबाही प्रक्रिया रहेको भन्ने थाहा हुन आएको हुँदा निजले प्राप्त गरेको पार्टी सदस्यता खारेज गरिएको जानकारी गराइन्छ ।’

पौडेलले यादवमाथिको कानुनी कारबाहीको प्रक्रियाको सन्दर्भमा गृह प्रशासनको समेत ध्यानाकर्षण गराइएको बताएका छन् । त्यस्तै उनलाई पार्टीमा ल्याउन भूमिका खेल्ने नेताहरूलाई पनि कांग्रेसले सचेत गराएको छ । 

तत्कालीन सद्भावना पार्टी, राष्ट्रिय जनता पार्टी हुँदै लोसपामा पुगेका यादव पछिल्लो समूह निष्क्रिय थिए । उनलाई कांग्रेस सहमहामन्त्री महेन्द्र यादव र मधेस प्रदेश सभापति कृष्ण यादवसँगको संवादपछि पार्टीमा ल्याइएको थियो ।  

यादवको पार्टी प्रवेश कार्यक्रममा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री यादव, महोत्तरी–४ बाट निर्वाचित सांसद महेन्द्रकुमार राय, कांग्रेस मधेस प्रदेशका सभापति यादव र कांग्रेस महोत्तरी सभापति नागेश्वर यादवलगायत उपस्थित थिए ।

मधेस आन्दोलनका क्रममा ०७२ भदौ २५ गते आन्दोलनकारीले असई विकको हत्या गरेका थिए । हत्या भएको ३ वर्षपछि २०७५ साउन २८ गते २८ जनाविरुद्ध कर्तव्यज्यान मुद्दा दर्ता भएको थियो ।

विकको हत्यामा महोत्तरी जिल्ला अदालतले ०८० मंसिर २८ गते ७ जनालाई जन्मकैदको सजाय सुनाएको थियो । यादव प्रहरीको फरार सूचीमा छन् । उनीविरुद्धको मुद्दा भने महोत्तरी जिल्ला अदालतमा मुलतवीमा राखिएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७