भनसुन र घुस नखुवाइ नेपालमा न्याय पाइँदैन : नारायणकाजी श्रेष्ठ

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालमा विकास र समृद्धि प्रक्रिया तीव्रगतिमा अघि बढ्न नसक्नुका कारण राजनीतिक अस्थिरता मात्र नभई राज्यका अन्य अङ्गको पुनर्संरचना र रूपान्तरण नहुनु पनि भएको बताएका छन् ।
विशेष गरी न्यायपालिका अहिले गम्भीर संकटमा फसेको उनले टिप्पणी गरेका छन् । ‘न्यायको खोजीमा अदालत पुगेको कुनै पनि नेपालीले सम्पर्क, पहुँच वा घुस विना न्याय पाउने अवस्था छैन,’ श्रेष्ठले आज सामाजिक सञ्जालमार्फत लेखेका छन् । उनले अझ गम्भीर रूपमा अदालतलाई राजनीतिक स्वार्थ, बदला र प्रतिशोध पूरा गर्ने औजारको रूपमा प्रयोग भइरहेको टिप्पणी गरेका छन् ।
निर्दोषहरू जेलमा कोचिनु पर्ने, सम्पत्ति गुमाउनु पर्ने र न्याय वञ्चित हुने अवस्था सिर्जना भएको उनले लेखेका छन् । उनले न्यायपालिकामा बसेका जिम्मेवार पदाधिकारीले यसबारे गम्भीरतापूर्वक सोच्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
‘राज्यका अङ्गको पुनर्संरचना र रूपान्तरण अनिवार्य छ । तर त्यसका लागि त्यस अनुरूपको राजनीतिक नेतृत्व आवश्यक छ, र त्यसको आधार ‘सफा राजनीति’ हुनुपर्छ,’ उनले भने ।
हेर्नुस् श्रेष्ठको स्टाटस