विद्या भण्डारीको सदस्यताका नविकरण भएको छैन : अध्यक्ष ओली
‘राष्ट्रपति भइसकेको मान्छे उचालेका भरमा सक्रिय राजनीतिमा आउन हुँदैन’

काठमाडौं । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको एमाले सदस्यताका विषयमा पोलिटब्युरो वैठकमा मुख खोलेका छन्।
उनले आज (शुक्रबार) बसेको पोलिटब्युरो वैठकमा पूर्व राष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण नै नभएको खुलासा गरेका हुन्। उनले भण्डारीको सदस्यता हालसम्म नविकरण नभएको बताएका हुन्। अध्यक्ष ओलीले भण्डारीको सदस्यता नवीकरणका विषयमा पार्टीले छलफल गरेर निर्णय लिने बताएका छन्।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भण्डारी सक्रिय राजनीतिमा फर्कनु हुन्न भन्ने विश्वासका साथ उनलाई दोस्रो पटक राषट्रपति बनाइएको बताएका छन्।
‘उचालेका आधारमा उहाँ सक्रिय राजनीतिमा आउनु हुँदैन। उहाँप्रतिको विश्वासको कुरा हुन्छ। पार्टीको सदस्यता नवीकरण भएको छैन,’ उनले भने, ‘सदस्यताको निर्णय कमिटीले गर्छ । विधिसम्मत छलफल गरेर निर्णय गर्ने हो । यो मेरो व्यक्तिगत धारणा हो।’
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्रको अराजकता रोक्नु पर्ने बताए। ‘पार्टीलाई ठूलो र संगठित हमला छ’ वैठकमा सहभागी एक सदस्यले ओलीको भनाई उदृत गर्दै भने, ‘यही बेला पार्टीभित्रबाट पनि बबण्डर उठाउने कोशिस हुनु गलत हो। यो कुरा तत्काल रोकिनु पर्दछ । नरोकिए पार्टीले रोक्छ।’
अध्यक्ष ओलीले राष्ट्रपति सक्रिय राजनीतिमा आउने कुरा आफूले पत्रिकाबाट थाहा पाएको समेत बताएका छन् । ‘दोस्रो पटक उहाँलाई पार्टीले पठाएको हो। अहिले संवैधानिक व्यवस्था अनुसार फर्किनु हुन्न भनेर जिम्मेवारी दिएको हो’ अध्यक्ष ओलीले बैठकमा भनेको कुरा सुनाउँदै ती सदस्यले सुनाए।
सक्रिय राजनीतिमा आउने कुरा र उचालेका आधारमा अध्यक्ष हुने कुरा फरक रहेको उनको टिप्पणी थियो। पार्टीका विधानका बारेमा नानाथरी धारणा राख्दै हिड्नेलाई उनले पार्टी पद्धति र प्रक्रियाका विषयमा पार्टीभित्र छलफल हुने र पार्टीमाथि आक्रमण भएका बेला बाहिर गएर बोल्ने कुरा उचित नभएको अध्यक्ष ओलीले बताए।