एमालेमा तीव्र ध्रुवीकरण, सचिवालयमा प्रस्ताव पारित गर्न बहुमत-अल्पमत
अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलविच भनाभन

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टी राजनीतिमा फर्किएसँगै एमालेमा तीव्र रूपमा ध्रुवीकरण सुरु भएको छ । यसको असर विहिबार बसेको सचिवालय बैठक स्पष्टमा देखिएको छ ।
चितवनमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशन यता एमालेका बैठकहरु औपचारिकतामा मात्रै समित थिए । अध्यक्ष केपी शर्मा ओली अथवा उनले सहमतिमा आएका सबै प्रस्तावहरु तुरुन्तै पारित भइरहेको थियो । तर विहिबारको सचिवालय बैठक भिन्न रह्यो । एक पदाधिकारी भन्छन्, ‘ दशौं राष्ट्रिय महाधिवेशन यता यति सघन छलफल भएको यो पहिलो पटक हो ।’
विहिबार १० घन्टासम्म चलेको सचिवालय बैठकमा प्रस्तुत प्रस्तावहरु सहमतिको आधारमा टुंगो नलागेपछि बहुमतको आधारमा पारित गरिएको छ । दशौं राष्ट्रिय महाधिवेशन यता बहुमतमा आधारमा पारित भएको यो पहिलो घटना हो ।
बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले तयार पारेको विधानबाट ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव थियो । यसैगरी बैठकमा १९ सदस्यीय पार्टी पदाधिकारी घटाएर ११ कायम गर्ने, केन्द्रीय कमिटीको संख्या १९९ मा झार्ने लगायतका प्रस्ताव पौडेलले अघि सारेका थिए ।
उपाध्यक्ष पौडेलले अध्यक्ष ओलीसँगको परामर्शमा यो प्रस्ताव अघि सारेका थिए । उपाध्यक्ष पौडेलले प्रस्तुत गरेको मस्यौदामाथि नेताहरुले आफ्ना कुरा राखेका थिए ।
विधानबाट ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्तावमा सहमति नजुटेपछि बैठक लम्बिएको थियो । पदाधिकारीहरुविच सहमति नजुटेपछि बहुमतको आधारमा निर्णय भएको एक पदाधिकारीले बताए । ती पदाधिकारीले भने, ‘बहुमतको आधारमा यो निर्णय पारित भएको हो ।’ ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रस्तावमा सहमति नजुटेपछि बहुमतका आधारमा यो प्रस्ताव भएको हो ।
स्रोतका अनुसार बैठकमा अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलविच भनाभन नै चलेको थियो । स्रोतका अनुसार विधानमाथि धारणा राख्ने क्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले विधान तीन पटक छापिएको भन्दै आपत्ती जनाएका थिए । वरिष्ठ उपाध्यक्ष पोखरेलले तीनपटक विधान छापिएको प्रशंग उठाएपछि ओलीले हस्तक्षेप गर्न खोज्दा पोखरेल जंगिएका थिए ।
बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले अनुसार १५ जनाको पदाधिकारी र केन्द्रीय कमिटीको आकार २५१ सदस्यीय हुने प्रस्ताव पारित भएको बताए । यसैगरी उनका अनुसार सदस्यता दुई खाले हुने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ ।
पूर्वराष्ट्रपति भण्डारीले गत १४ असार पार्टी राजनीतिमा सक्रिय हुने घोषणा गरेकी थिइन् । सोही कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले खुलेरै पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा आउनुपर्नेमा जोड दिएका थिए । त्यसयता एमालेमा ध्रुवीकरण सुरु भएको हो ।