कसैको लसपस छ भने भन्नुु केहि छैन, एमालेसँग एकताको सम्भावना छैन : माधव नेपाल


२०८२ श्रावण २ शुक्रबार १७:०८ बजे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेसँग एकताको कुनै सम्भावना नरहेको बताएका छन् । नेपाल राष्ट्रिय एकता अभियान र नेकपा (एकीकृत समाजवादी) बीचको एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूले त्यहाँभित्रकै अवस्था राम्रोसँग देखेको भन्दै एमालेसँग एकता हुन्छ कि भनेर भ्रम नपाल्न आग्रह गरे । उनले कम्युनिष्टहरू बिग्रिएपछि धेरै गन्हाउने गरेको भन्दै त्यही अवस्था अहिले आफूले देखिरहेको बताए । उनले बिग्रिएकाहरूले आफूले गरेको गल्तीको महसुस गरेर सच्चिन र सुध्रिन जरूरी रहेको बताए ।

आफूहरु कसैप्रति आग्रह पालेर नबस्ने  समेत उनले स्पष्ट पारे । अध्यक्ष नेपालले आफ्नो पार्टीलाई सिध्याउन नेकपा एमालेले प्रयत्न गरिरहेको आरोप लगाए । पार्टीलाई बलियो बनाउन नेपाल राष्ट्रिय एकता अभियानसँगको एकताको भूमिका महत्वपूर्ण रहने उनको भनाइ छ ।  उनले आफ्नो पार्टीलाई सिद्ध्याउने, समाप्त पार्ने ढङ्गले प्रहार भइरहेको बताए ।

उनले भने, ‘एमालेसँग एकताको कुनै सम्भावना छैन । अहिलेको विन्दुमा उभिएर भन्दाखेरि एमालेसँग एकताको कुनै सम्भावना छैन । त्यहाँभित्रको अवस्था हामीले देखिराखेका छौँ । त्यसप्रति लसपस कसैको छ भने आशा, अपेक्षा ज्यादा छ भने मेरो भन्नु केही पनि छैन । यो पार्टीसँग उसको सम्बन्धको कुरा गर्नुहुन्छ भने उसका नेताहरूको अभिव्यक्तिले नै प्रस्ट पारिसकेको छ ।’

उनले स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई लक्षित गर्दै जिम्मेवारीमा बसेपछि त्यही अनुसारको आचरण हुनुपर्ने बताए । उनले थपे, ‘पार्टीमा जिम्मेवारी लिएपछि पूरा गर्नुपर्छ । पद ओगट्ने जिम्मेवारी लिने, तर पद अनुकूलको आचरण नगर्ने काम कसैबाट नहोस् ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७