बजार जमाउँदै ‘माया धराने बेसार’
तीन दिनमै दुई हजार किलो बिक्री

सुनसरी । लाहुरेको शहर भनेर चिनिएको धरान अहिले कृषि उत्पादनबाट पनि नयाँ परिचय बनाइरहेको छ । अहिले ‘माया धराने बेसार’ चर्चितसँगै उपभोक्ताको खोजीमा पर्न थालेको छ । निकै आकर्षक प्याकमा उपलब्ध ‘माया धराने बेसार’ ले अहिले सामाजिक सञ्जालहरुमा समेत चर्चा बटुलिरहेको छ । अहिले धेरै उपभोक्ताले बेसारलाई रुचाएको मात्रै होइन, सामाजिक सञ्जालमा पनि बेसारको प्याकेटको फोटो राखेर पोष्ट गरिरहेका छन् ।
माया धराने बेसार सञ्चालक समितिका सदस्य समीर तामाङका अनुसार तीन दिनमै दुई हजार किलो बेसार बिक्री भइसकेको छ । प्रतिकिलो आठ सय रुपैयाँ पर्ने बेसार दुई हजार किलो बिक्री हुँदा १६ लाखको व्यापार भइसकेको छ । तामाङले भने, ‘जिल्ला–जिल्लाबाट अर्डर आइरहेको छ । अहिले विदेशबाट पनि अर्डर आउन सुरु भएको छ ।’
तामाङका अनुसार माया धराने कृषक समाज, उपभोक्ता सञ्चालक समितिले धरान उपमहानगरपालिकासँग सहकार्य गरेको हो । उपमहानगरले भवन निर्माण गर्नेदेखि फ्याक्ट्रीमा प्रशोधनका लागि चाहिने मेशिन पनि किनेको तामाङले बताए । त्यही फ्याक्ट्रीमा आफूहरूले बेसार प्रशोधन गरी प्याकेजिङ गरेर बजारमा लैजाने गरेको उनले जानकारी दिए ।
आधा किलो बेसारको बजार मूल्य चार सय छ । कृषकबाट उठाउँदा तीन सयदेखि तीन सय ३० रुपैयाँसम्ममा उठाउने गरेको उनले बताए । अहिलेसम्म धरान उपमहानगरका कृषकहरूकै बेसार उठाइरहेको तामाङले बताए । तर, माया धराने बेसार बेचेर आएको मुनाफालाई के कसरी वितरण गर्ने भनेर स्पष्ट भइनसकेको तामाङले बताएका छन् । उनले भने, ‘अहिले हामी ट्रायल पिरियडमा छौँ । छिट्टै नै त्यसबारे पनि निर्णय गर्छौँ ।’
अहिलेसम्म उपमहानगरले भवन र मेशिन उपलब्ध गराउनु बाहेक बाँकी खर्च सञ्चालक समितिले गर्दै आइरहेको छ । सञ्चालक समितिमा १५ सदस्य छन् । १५ सदस्यले चालु पुँजीको रूपमा पाँच लाख रुपैयाँ पैसा उठाएको र त्यही पैसाले बाँकी कामहरू गरिरहेको तामाङले जानकारी दिए ।