राजीनामापछि गुप्ताको प्रतिक्रिया : प्रधानमन्त्रीले रुक्नु–रुक्नु भन्नु भयो 

‘तनाव कति सहने बाफरे, हार्टअट्याक नै होला जस्तो’


२०८२ असार ३१ मंगलबार १२:२६ बजे

काठमाडौं । घुस प्रकरणमा मुछिएपछि राजीनामा दिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले तनाव सहन नसकेर पदबाट राजीनामा दिएको प्रतिक्रिया दिएका छन् । उनले आफूमाथि छानबिन गर्न पनि आग्रह गरेका छन् ।

आज (मंगलबार) बिहान राजीनामा दिएपछि गुप्ताले तीन दिनदेखिको तनावका कारण राजीनामा दिएको बताएका हुन् । ‘राजनीतिक यात्रा लामो छ, भर्खर म ५३ वर्षको भएँ । अहिले केन्द्रीय कमिटी सदस्य छु, पार्टीमा अझ राजनीति गर्न बाँकी छ,’ गुप्ताले भने, ‘यसबीचमा मेरोबारे तथानाम आरोप लागेपछि तनाव सहन नसकेर राजीनामा दिएको हुँ ।’ गुप्ताले आफूले कसैसँग घुस नलिएको दाबीसहित छानबिनका लागि आग्रह गरेका छन् । ‘मलाई कसले घुस दियो थाहा छैन, राज्यका सम्बन्धित निकायले छानबिन गरोस् र यथार्थ बाहिर ल्याओस्,’ गुप्ताले भने, ‘दोषी देखिए कारबाही भोग्नका लागि तयार छु ।’

गुप्ताले आफूले राम्रो काम गरिरहेको बेला कसैलाई चित्त नबुझेर षड्यन्त्र गरेको हुनसक्ने दाबी गरे । ‘मलाइ धेरै तनाव भयो, यो तनाव कति सहनु भनेर राजीनामा दिए’ उनले भने । गुप्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि नभई स्वेच्छाले राजीनामा दिएको बताए । ‘बालुवाटार गएको थिएँ, प्रधानमन्त्रीसँग भेट हुन सकेन । उहाँको स्वकीय सचिवलाई राजीनामा बुझाएर बाहिरिएँ,’ गुप्ताले भने । तर टेलिफोन गरेर उनलाई जानकारी गराएको र त्यस क्रममा प्रधानमन्त्री ओलीले अहिले रोकिनु भनेको गुप्ताको भनाइ छ ।  

‘प्रधानमन्त्री बालुवाटारमै अर्काे कार्यक्रममा हुनुहुन्थ्यो त्यही भएर मैले उहाँको सचिवालयमा राजीनामा बुझाएँ । सचिवालयमा राजीनमा बुझाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरेर जानकारी गराएँ’, उनले भने । गुप्ताले भने, ‘हैन, रुक्नु, रुक्नु भन्नु भो, मैले होइन हजुर म यति तनाव, यति पीडा सहँदैन हजुर, मैले राजीनामा बुझाएँ, गएँ ।’ गुप्ताले तनावले गर्दा हार्टअट्याक नै होला जस्तो भएपछि मन्त्री पदबाट राजीनामा दिएको बताएका छन् । 

‘कति तनाव सहने बाफ रे बाफ ! तीन दिनदेखि टीभी हेर्न पाएको छैन, मोबाइल चलाउँदा त्यत्तिकै तनाव, हत्तेरिका, यस्तो पनि हुन्छ ! मेरा कुरा कसैले नलेख्ने ! बाफ रे बाफ यति झन्झट’ मान्छेलाई हार्टअट्याक हुन्छ, म आफै गएर पीएमलाई दिएँ । मलाई बस्न मन लागेन हजुर, छानबिन होस् मेरो पनि राजनीतिक करियर छ नि त। आरोप लागेर कुर्सीमा बस्नु धेरै तनाव भयो।’  गुप्ता २०८१ असार ३१ गते सामान्य प्रशासन मन्त्री बनेका थिए । पर्सा ३ बाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित गुप्तालाई एमालेले मन्त्री बनाएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७