मेयर साम्पाङकै कारण ६ अर्बको खानेपानी आयोजनाको काम अघि बढेन : मन्त्री यादव


२०८२ श्रावण २ शुक्रबार २१:५२ बजे

सुनसरी । खानेपानीमन्त्री प्रदीप यादवले धरानको खानेपानीसम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गर्न सबै सरोकार भएका निकाय तथा स्थानीयबीच समन्वय र सहकार्य अपरिहार्य रहेको बताएका छन् ।

आज धरानमा सुनसरी उद्योग वाणिज्य संघले यहाँ आयोजना गरेको भेटघाट कार्यक्रममा उनले धरानको खानेपानीसम्बन्धी समस्याको दीर्घकालीन समाधानका लागि सबै तहका सरकार, सरोकार भएका निकाय तथा स्थानीय बासिन्दाबीच हातेमालो आवश्यक रहेकामा जोड दिए । 

मन्त्री यादवले आफू राजनीति गर्न मात्र नभई विद्यमान समस्याको समाधान खोज्न आएकाले सहकार्यमार्फत विकल्प खोजिने स्पष्ट पारे । खानेपानीसम्बन्धी समस्या समाधानका लागि तत्काल छलफल गरी विकल्पसहित सहकार्य अपरिहार्य रहेको उनले खाँचो औंल्याए ।

‘प्रधानमन्त्री स्वयंले धरानको समस्या समाधान गर्न मलाई पटक–पटक निर्देशन दिनुभएको छ । तर यहाँ छलफल गर्न आएको बेलामा धरान नगर प्रमुखले समय दिनु भएन, यो दुःखद् हो’, उनले भने ।

मन्त्री यादवका अनुसार संघीय सरकारले धरानको खानेपानी समस्या समाधानका लागि चालु आर्थिक वर्षमा रु चार करोड बजेट विनियोजन गरिसकेको छ । ‘धरान नगरपालिकाले उक्त बजेट लिन मानेको छैन, यसले समाधान प्रक्रिया ढिलो बनाइरहेको छ’, उनले भने, ‘समस्या समाधानका लागि विनियोजित बजेट स्वीकार गरी सहकार्यमार्फत दीर्घकालीन उपाय अवलम्बन गरौँ ।’

संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय भएमात्र देशभरका खानेपानी समस्या समाधान सम्भव हुने मन्त्री यादवले विश्वास व्यक्त गरे । ‘खानेपानी मन्त्रालयको नेतृत्व सम्हालेसँगै जनतालाई समस्याबाट मुक्त गराउनु मेरो पहिलो प्राथमिकता र दायित्व हो’, उनले भने ।

मन्त्री यादवले खानेपानी जस्तो आधारभूत विषयमा राजनीतिक पूर्वाग्रह नराख्न सबैलाई आग्रह गर्दै सबै पक्षले गम्भीरताका साथ हातेमालो गर्नुपर्नेमा जोड दिए । ‘छलफल गरेर मात्र समाधानको बाटो खुल्छ । सस्तो लोकप्रियताका लागि होइन, जनताको हितका लागि सबै मिलेर अघि बढ्न जरुरी छ’, उनले भने ।

मन्त्री यादवले प्रधानमन्त्री केपी ओली र सुनसरी क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य अशोक राईको विशेष आग्रहमा एसियाली विकास बैंक(एडीबी)सँगको सहकार्यमा ६ अर्ब रुपैयाँ रकम विनियोजन गरी धरानवासीलाई खानेपानी समस्याबाट मुक्त गराउन संघीय सरकारले आयोजनाको काम अगाडि बढाउन लाग्दा मेयर साम्पाङले अवरोध गरेको बताए । 

मन्त्री यादवले धरानमा दैनिक ४ करोड ८४ लाख लिटर पानी उत्पादन गर्ने स्टेटमेन्ट तयार गरेर खानेपानी आयोजनाको काम अगाडि बढाउन खोज्दा मेयर साम्पाङले विदेशी अनुदान स्विकार नगर्ने भन्दै अवरोध पुर्‍याएको बताए । उनले मेयर साम्पाङ रित्तो गाग्री बोकेर पानी माग्दै काठमाडौं जाने तर, सरकारले रकम विनियोजन गरी खानेपानी आयोजनामा सहकार्य गरौं भन्दा उल्टै आयोजना विफल बनाउन लागेको आरोप लगाए । 

उनले रित्तो गाग्री बोकेर विरोध गर्दैमा धरानको खानेपानी समस्या समाधान नहुने पनि बताए । धरानको खानेपानी समस्या समाधान गर्न आयोजनाको काम अगाडि बढाउनका लागि सुनसरी  उद्योग वाणिज्य संघको कार्यालयमा छलफलका लागि मेयर साम्पाङलाई बोलाउँदा समेत नआएको मन्त्री राईले गुनासो गरे । 

उनले धरानवासीलाई खानेपानी समस्याबाट मुक्त गराउन ६ अर्बको खानेपानी आयोजनाको काम सुरु गराउन मेयरको ध्यानाकर्षण गराउन धरानवासीसँग अनुरोध गरे । साउन ७ गतेभित्र खानेपानीको टेन्डर आह्वान गरी म सुरु गर्नुपर्ने भए पनि मेयर साम्पाङले सहमति नजनाएका कारण खानेपानी आयोजनाको काम अगाडि बढाउन नसकिएको मन्त्री यादवले बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७