एमालेको पोलिटब्युरो बैठक शुरू (तस्वीरहरु)


२०८२ श्रावण २ शुक्रबार १५:२२ बजे
तस्वीरहरु : दिनेश भण्डारी

काठमाडौं :  सत्तारुढ नेकपा एमालेको पोलिटब्युरो बैठक शुरू भएको छ । बिहीबारबाट शुरू भएको बैठक पार्टी कार्यालय च्यासलमा आज पनि बसेको हो । बैठकमा २०८४ को निर्वाचनमा एक्लै निर्वाचन लड्ने र बहुमत ल्याउने उद्देश्यसहितको एक वर्षे कार्ययोजनामा छलफल अघि बढेको छ ।

मंगलबार बैठकमा महासचिव शंकर पोखरेलले प्रस्ताव कार्ययोजनामा आज नेताहरूले आफ्नो धारणा राख्ने छन् । बैठकमा धारणा राख्ने प्रत्येक सदस्यहरूलाई बोल्न तीन मिनेट समय दिइने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।  संगठित सदस्यको संख्या १० लाख पुर्‍याउने एमालेको लक्ष्य छ । विधान महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजबारे छलफल गर्न पोलिट्ब्युरो बैठक बसेको हो।

बैठकले गएराति सम्पन्न सचिवालय बैठकका निर्णय अनुमोदन गर्ने नेताहरूले बताएका छन् । साउन ५ गते बस्ने केन्द्रीय कमिटीको बैठकमा सचिवालय र पोलिटब्युरो बैठकका निर्णय प्रस्ताव गरिनेछ । सचिवालय बैठकले एमालेमा पदाधिकारीको संख्या १९ बाट १५ मा झार्ने निर्णय गरेको छ ।

७० वर्षे उमेर र दुई कार्यकालको हद  पनि हटाएको छ । यस्तै अबदेखि पार्टीमा सचिवालय समिति पनि नरहने निर्णय गरेको छ। अब एमालेमा स्थायी कमिटी, पालिटब्युरो र केन्द्रीय कमिटी मात्र रहनेछन्। १५ सदस्यीय पदाधिकारीलाई नै स्थायी कमिटी मान्ने निर्णय भएको छ ।

आगामी राष्ट्रिय महाधिवेशनदेखि केन्द्रीय निकायका रूपमा तीनवटा कमिटी मात्र सक्रिय हुने गरी विधान महाधिवेशनमा प्रस्ताव गरिने भएको छ । पार्टीमा अध्यक्ष, महासचिव र उपमहासचिव, उपाध्यक्ष पाँच र सचिव सात जना रहने सहमति भएको छ ।

पार्टी उपाध्यक्ष एवं विधान संशोधन समितिका संयोजक विष्णुप्रसाद पौडेलले पदाधिकारी संख्या ११ मात्र राख्ने प्रस्ताव गरेका थिए। तर, छलफलपछि १५ पदाधिकारी राख्ने निर्णय भएको हो । पौडेलले १९९ सदस्यीय केन्द्रीय कमिटी प्रस्ताव गरेकामा २५१ सदस्यीय बनाउने सहमति भएको छ ।

केन्द्रीय कमिटीका एक तिहाइ सदस्य पोलिटब्युरोमा रहनेछन्, जसअनुसार एमालेको पोलिटब्युरो अब ८३ सदस्यीय हुनेछ । हाल एमाले पोलिटब्युरो समितिमा ९९ सदस्य छन् । 

 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७