सबै भ्रष्टाचार काण्ड छानबिनको माग गर्दै अख्तियार र सम्पति शुद्धीकरणमा राप्रपाको ज्ञापन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २०४६ सालपछि सत्तामा पुगेका उच्च पदस्थ राजनीतिक तथा प्रशासनिक नेतृत्वको सम्पत्ति छानबिन गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागमा ज्ञापनपत्र बुझाएको छ ।
पार्टीले लामो समयदेखि एजेण्डा बनाउँदै आएको यो विषयलाई शुक्रबार औपचारिक रूपमा विभागमा दर्ता गराएको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधि मण्डलले शुक्रबार हरिहरभवनस्थित सम्पत्ति शुद्धीकरण विभाग र टंगालस्थित अख्तियार दुरुपयोग अनुुसन्धान आयोगको कार्यालय पुगेर ज्ञापनपत्र बुझाएको प्रवक्ता मोहन श्रेष्ठले बताए ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपा नेताहरूले शुक्रबार सम्पत्ति शुद्धीकरण विभाग र अख्तियारलाई ज्ञापन पत्र नै बुझाएर सम्पत्ति र सबै काण्डहरूको छानबिन गरी दोषीमाथि कारबाही माग गरेका हुन् ।
‘संघ, प्रदेश र स्थानीय तहका बीच भ्रष्टाचारका लागि प्रतिस्पर्धाजस्तो देखिन्छ । अहिले भ्रष्टाचार कहाँ–कहाँ छ होइन, कहाँ चाहिँ छैन भनेर खोज्नुपर्ने परिस्थिति निर्माण भएको छ,’ राप्रपाले अख्तियारमा बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।