सरकारलाई शिक्षकहरूको ‘अल्टिमेटम’
विगतको भन्दा सशक्त आन्दोलनको चेतावनी

काठमाडौं । नेपाल शिक्षक महासंघले साउन २१ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्न सरकारलाई ‘अल्टिमेटम’ दिएको छ ।
आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दै महासंघले साउन २१ गतेभित्र विधेयक पारित नभए विगतको भन्दा कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको हो । महासंघले आन्दोलनको स्वरुप र कार्यक्रमहरु पछि सार्वजनिक गरिने जनाएको छ ।
गत वैशाख १७ गतेको सहमति कार्यान्वयनमा सरकार गम्भीर नभएको भन्दै महासंघले विधेयक पारितका लागि अल्टिमेटम दिएको हो ।
पत्रकार सम्मेलनमा शिक्षक प्रतिनिधिहरुले असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित गर्ने प्रतिवद्धताबाट सरकार आफैं पछि हटेको र समय सीमा सकिएको दुई सातासम्म पनि शिक्षकहरुलाई नै दोषी देखाएर सरकार उम्कन खोजेको दबताएको छ ।
साउन २१ गतेभित्र विधेयक पारित नभए पुनः आन्दोलनमा जानुको विकल्प नहुने उनीहरुको भनाइ छ ।
सहमति कार्यान्वयनमा सरकार इमान्दार नभएको बताउँदै उनीहरुले शिक्षकहरुलाई बाधक देखाउँदै शिक्षा समितिमा विधेयक अल्झाउनु गलत भएको तर्क गरे ।
सहमतिअनुसार, अस्थायी शिक्षकलाई स्थायी गर्ने प्रक्रिया, स्थायी शिक्षकको बढुवा, विभागीय कारबाही, विद्यालय कर्मचारीको व्यवस्थापन, इसीडीका शिक्षकहरुको व्यवस्थापन, ट्रेड युनियन अधिकारलगायतका विषयमा अहिले षडयन्त्र भइरहेको उनीहरुको दाबी छ ।
लिखित सहमति कार्यान्वयनमा पनि गम्भीर नदेखिनु सरकारको लाचारीपन भएको बताउँदै शिक्षक महासंघले आन्दोलन गर्नुको विकल्प नहुने बताएको हो ।