मौद्रिक नीति ल्याउन किन गरियो हतार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरूले पर्याप्त विश्लेषण गरेर कार्यान्वयनमुखी आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याइएको बताएका छन् । मौद्रिक नीति सार्वजनिक पछि राष्ट्र बैंकमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राष्ट्र बैंकका कार्यकारी निर्देशक रामशरण खरेलले धेरै पहिल्यैदेखि तयारी गरेर मौद्रिक नीति ल्याइएको बताए । उनकाअनुसार मौद्रिक नीति सार्वजनिक गर्ने दिनको गोपनियता राखिएको हो ।
राष्ट्र बैंकका अर्का कार्यकारी निर्देशक गुरूप्रसाद पौडेलले आगामी दिनमा पनि आर्थिक वर्ष सुरू हुनु अगावै मौद्रिक नीति ल्याउन कोशिस गरिने बताए । आगामी आवको मौद्रिक नीतिलाई केही दिनअघि नै ल्याइँदा आवश्यक तयारी पुरा गर्न सहज हुने उनको विश्वास छ । उनले रामेश्वर खनाल नेतृत्वको आर्थिक सुधार आयोगको प्रतिवेदन, मौद्रिक नीति सुझाव समितिका प्रतिवेदनहरूलाई मौद्रिक नीतिले समेटेको बताए । मौद्रिक नीति ल्याउन किन हतार गरियो भन्ने सबैको चासो छ । तर, योजनाबद्ध ढंगले नै आगामी वर्षको मौद्रिक नीति समयमै ल्याइएको नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक रामशरण खरेल बताउँछन् ।
मौद्रिक नीति सार्वजनिक पछिको पत्रकार सम्मेलनमा खरेलले मौद्रिक नीति सार्वजनिक गरिने मितिको गोप्यता राखिएको बताए । नयाँ आर्थिक वर्ष सुरु भएपछि कार्यान्वयन गर्न सजिलो हुने भएकाले पनि आर्थिक वर्ष सुरु हुनुभन्दा अगाडि नै ल्याइएको खरेलले बताउँछन् । ‘यो हाम्रा लागि छिटो हैन । हामीले धेरै अगाडिदेखि होमवर्क गरेर २७ गते मौद्रिक नीति ल्याउने भन्ने हाम्रो योजना हो’, खरेलले भने । विगतमा मौद्रिक नीति सार्वजनिक हुने मिति तोकिँदा गोप्य विषय बाहिरिने गरेको उनले बताए । ‘यति गते मौद्रिक नीति आउँदै छ भनेपछि कतिपय कुरा बाहिर पहिल्यै आउने, बढी चासो रहने कारणले मौद्रिक नीति निस्किने दिनको गोपनियता कायम गरेको हो’, खरेलले भने ।