सुनसरी घटना: कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीको जिम्मेवारी खोसियो

सीडीओ घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उनको ठाउँमा संखुवासभाका सीडीओ ईश्वरीप्रसाद अर्याललाई खटाइएको छ । एसपी केशव थेवेलाई हटाएर पुष्पराज मल्ललाई खटाइएको छ ।


२०८३ श्रावण ११ सोमबार १७:५७ बजे

काठमाडौं :  सुनसरीको देवानगञ्जमा भएको झडपपछि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएको छ। गृह मन्त्रालयले सुनसरीका सीडीओ बासुदेव घिमिरेलाई मन्त्रालयमा तानेर उनको स्थानमा संखुवासभाका सीडीओ ईश्वरीप्रसाद अर्याललाई पठाउने निर्णय गरेको हो।

त्यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय काठमाडौं तानिएको छ भने उनको स्थानमा प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरिएको छ। उनको स्थानमा विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई पठाइएको छ।

यस्तै, सशस्त्र प्रहरी बल नेपाल कप्तानगञ्जमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) नन्दकिशोर महतोलाई फिर्ता बोलाएर उनको ठाउँमा सशस्त्र प्रहरी बल प्रधान कार्यालय काठमाडौंमा कार्यरत डीएसपी मदन नाथलाई पठाइएको छ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएको थियो। घटनामा ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी गरी २४ जना घाइते भएका छन्।

घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ। समितिले एक साताभित्र प्रतिवेदन बुझाउने जनाइएको छ।

घटनापछि थप तनाव हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा आइतबार बिहान ७ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७