क्रिस्टियानो रोनाल्डो अब अभिनयमा

ड्रामा सिरिजमा निर्माता र कलाकार बन्दै


२०८३ श्रावण ११ सोमबार १९:१० बजे

काठमाडौं :  विश्व फुटबलका चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डो खेल जीवनसँगै मनोरञ्जन क्षेत्रमा पनि नयाँ यात्रा सुरु गर्ने भएका छन्। म्यानचेस्टर युनाइटेड र रियल मड्रिडका पूर्व स्टार तथा हाल साउदी प्रो लिग क्लब अल–नासर र पोर्चुगल राष्ट्रिय टोलीका कप्तान रोनाल्डो बेलायती फुटबलमा आधारित नयाँ टेलिभिजन ड्रामा ‘डे वन्स’ का कार्यकारी निर्माता बन्ने भएका हुन्।

रोनाल्डोले यस सिरिजमा अभिनयसमेत गर्नेछन्। उनीसँगै आर्सनल तथा फ्रान्सका पूर्व महान् स्ट्राइकर थिएरी हेन्री पनि यस परियोजनामा देखिने भएका छन्। फुटबल मैदानमा अभूतपूर्व सफलता हासिल गरिसकेका रोनाल्डोले पछिल्लो समय विभिन्न व्यावसायिक क्षेत्रमा लगानी विस्तार गर्दै आएका छन्। ‘डे वन्स’मार्फत उनको मनोरञ्जन उद्योगमा औपचारिक प्रवेश हुन लागेको हो।

४१ वर्षीय रोनाल्डोले सिरिजमा निर्माता र कलाकार दुवैको भूमिका निर्वाह गर्नेछन्। यो सिरिज बेलायती फुटबल जगतको जटिल पक्षलाई एक प्रभावशाली फुटबल एजेन्टको कथामार्फत प्रस्तुत गर्ने बताइएको छ। परियोजनाको घोषणा गर्दै रोनाल्डोले भने, “मेरो खेल जीवनपछि नयाँ यात्रातर्फ अघि बढ्ने क्रममा यो अत्यन्त उत्साहजनक अध्याय हो।”

यो सिरिज रोनाल्डोले बेलायती फिल्म निर्देशक म्याथ्यु भनसँग मिलेर स्थापना गरेको यूआर–मार्भ स्टुडियोजले निर्माण गरिरहेको छ। म्याथ्यु भन ‘किङ्सम्यान’ र ‘किक–एस’ जस्ता चर्चित चलचित्रका निर्देशक हुन्।

सिरिजमा पूर्व फ्रान्सेली स्टार थिएरी हेन्रीसँगै अभिनेता ड्यामियन लुइस पनि मुख्य भूमिकामा रहनेछन्। सिरिजको कथा वास्तविक फुटबलरको जीवनमा आधारित नभई काल्पनिक प्रभावशाली फुटबल एजेन्ट स्ट्यान्ली डाल्टनको वरिपरि केन्द्रित हुनेछ।

निर्माताका अनुसार ‘डे वन्स’ले आधुनिक फुटबल उद्योगको यथार्थपरक चित्रण गर्नेछ। यसलाई हास्यप्रधान सिरिजभन्दा गम्भीर ड्रामाका रूपमा प्रस्तुत गरिनेछ।

सिरिजको छायांकन उत्तर–पश्चिम लन्डनस्थित बार्नेट एफसीको मैदानमा सुरु भइसकेको बताइएको छ। छायांकन गोप्य रूपमा अघि बढिरहेको जनाइएको छ। रोनाल्डो र हेन्री कुनै समय इंग्लिस प्रिमियर लिगका फरक–फरक क्लबका प्रमुख स्टार थिए। अहिले उनीहरू पहिलोपटक एउटै मनोरञ्जन परियोजनामा सहकार्य गर्दैछन्।

फुटबल बाहिर पनि रोनाल्डो विश्वव्यापी ब्रान्ड, विज्ञापन, डकुमेन्ट्री र आफ्नै सीआर७ ब्रान्डमार्फत प्रभावशाली उपस्थिति बनाउँदै आएका छन्। ‘डे वन्स’ उनको व्यावसायिक यात्राको नयाँ अध्यायका रूपमा हेरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७