सर्लाहीका एसपीलाई जसपा प्रदेश अध्यक्षको धम्की, पक्राउका लागि खोजिँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष अशोक यादवले जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्रकुमार खड्कालाई गालीगलौज गर्दै धम्की दिएका छन् । अशोक राई नेतृत्वको जसपाका मधेस प्रदेश अध्यक्ष यादवले फोनमा अपशब्द प्रयोग गर्दै एसपी खड्कालाई लुटेराको आरोप लगाएका छन् । सर्लाहीमा प्रहरीले सर्वसाधारण र व्यापारीलाई अनावश्यक दुःख दिने गरेको भन्दै यादवले उक्त कार्य छाड्न एसपी खड्कालाई अपशब्द प्रयोग गालीगलौज गरेका हुन् । ‘तस्करी नियन्त्रणको नाममा निर्दोष नागरिकलाई मुद्दामा फसाइदिने र असलीलाई जोगाउने गरेको देखियो, यो बन्द गर्नुस्’ भन्दै यादवले खड्कालाई गालीगौज गरेका हुन् ।
एसपी खड्का पनि उत्तेजित भएर यावदमाथि खनिएको सार्वजनिक अडियोमा सुनिन्छ । यादवले खड्कालाई फोनमा ‘मधेशमा प्रहरी लुट्न आएको हो’ भनेपछि वादविवाद चर्किएको थियो ।
बिहीबार रातिको यो घटनामा जिल्लाका प्रहरी प्रमुखलाई नै ‘लुटेरा’ भन्दै धम्की दिएपछि यादवलाई प्रहरी पक्राउ गर्न गएको थियो । तर, यादवका कार्यकर्ताले डीएसपी सवार गाडी तोडफोड गरिदिएका छन् । एसपी खड्काका अनुसार जिल्ला विकास पूर्वाधार कार्यालयमा यादवले गुण्डागर्दी शैलीमा कारोबार गर्न थालेको भन्दै सर्वसाधरणले गुनासो गरेका थिए । उक्त कार्यालयमा प्रहरी पुगेपछि यादवले फोन गरेर अश्लील शब्दमा गाली गरेका एसपी खड्काले बताए । यादवको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यता, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सरोज राईले यस विषयमा अनुसन्धान भइरहेको र नेता अशोक यादवको खोजी भइरहेको जानकारी दिए । डीएसपी राईले हिजो राति करिब ११ बजे उनकै कमाण्डमा प्रहरी टोली नेता यादवलाई नियन्त्रणमा लिन उनको घर पुगेको जानकारी दिए । तर, घर नपुग्दै बाटोमै नेता यादवका छोराले विवाद गरेको र गाउँलेहरूको हुलहुज्जतका कारण प्रहरी टोली फर्कन बाध्य भएको उनले बताएका छन् ।
प्रहरीको गाडीमा तोडफोड समेत भएको जानकारी दिँदै कार्यालयले यादवविरुद्ध कारबाही अगाडि बढाएको र उनको खोजी कार्य जारी रहेको डीएसपी राईको भनाइ छ । यता नेता यादवले आफू हिजैदेखि जनकपुरमा रहेको बताएका छन् । ‘फोनमार्फत एसपीसँग कुरा गरेको हो, म अहिले जनकपुरमै छु, तर हिजो रातिदेखि दुई पटक मलाई पक्राउ गर्न घरमा दर्जनौं प्रहरी पुगेको छ । म बाहिर भएको बेला घरको मान्छेलाई प्रहरीले दुःख दिइरहेको छ’, उनले भने ।