भैरहवामा रास्वपा संसदीय दल बैठक जारी {तस्वीरहरू}

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलकाे बैठक सुरू भएको छ । रूपन्देहीको भैरहवास्थित रमादा होटलमा बुधबार दिउँसो बैठक बसेको हो । सहकारी ठगी आरोपमा जिल्ला कारागारमा रहेका पार्टी सभापति रवि लामिछानेलाई बिहान भेटेपछि नेताहरु दलको बैठकमा बसेका हुन् ।
संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठका अनुसार संसदको चालु (बर्खे) अधिवेशनको समीक्षा, कुलिङ अफ् पिरियड, संवैधानिक निकायको कामकारबाही लगायत विषयमा छलफल गर्न भैरहवामा बैठक बसेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता, सांसदहरू रूपन्देही–३ लक्षित अभियानका क्रममा भैरहवामै छन् । उनीहरूले भैरहवा कारागारमा रहेका पार्टी सभापति रवि लामिछानेसँग भेटेर परामर्श पनि लिइरहेका छन् । मंगलबार पार्टीका कार्यवाहक सभापति डिपी अर्याल (डोलप्रसाद) ले पार्टी सभापति लामिछानेलाई भेटेर सल्लाह गरेका थिए ।
‘संसदीय दलको बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, संसदमा पार्टीले उठाएका भिजिट भिसा प्रकरण लगायत मुद्दा, त्यसमा सरकारले विपक्षीको माग सम्बोधन नगरी संख्याको आधारमा जबरजस्ती संसद चलाएको, संसदमा पेश भएका विभिन्न विधेयक, भ्रष्टाचारका मुद्दामा पार्टीले लिएका अडान आदि विषयमा समीक्षा गरी आगामी रणनीति तय हुनेछ’ रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले भने ।
परियारका अनुसार पार्टीका नेता र सांसदहरु आज–भोलि दुई दिन भैरहवा एवं रुपन्देही क्षेत्र नं ३ मा रहनेछन् ।बैठकमा पार्टीले रुपन्देही क्षेत्रनम्बर ३ को उपनिर्वाचनको उम्मेदवारबारे भने छलफल नहुने परियारले बताए।
पार्टीले रुपन्देही क्षेत्रनम्बर ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न इच्छुक व्यक्तिबाट आवेदन माग गरिसकेकाले आवेदन दिने म्याद पूरा भइसकेपछि मात्रै उम्मेदवारबारे छलफल हुने उनको भनाइ छ ।रुपन्देही क्षेत्रनम्बर ३ का आगामी कार्तिक १७ गते उपनिर्वाचन हुँदैछ । गत आम निर्वाचनमा रास्वपा यो क्षेत्रमा समानुपातिकतर्फ १४ हजार बढी मतसहित तेस्रो ठूलो दल बनेको थियो ।
हेर्नुस् तस्वीरहरू