एकै परिवारका १६ जना बेपत्ता

गोलन्जोरका वडाध्यक्ष श्रेष्ठ भन्छन्–एकान्तमा घर छ, कहाँ गए अहिलेसम्म अत्तोपत्तो छैन

अँगेनामा सुँगुरको मासु, भोज खाएदेखि सम्पर्कविहीन


२०८२ श्रावण १२ सोमबार १४:५५ बजे

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, छेत्पा नजिक भण्डास विप्पर कटेरीमा रहेका उर्मिला हायूसहितको १६ जनाको परिवार एकाएक सम्पर्कविहीन छन् । एकलासको घरमा सोमबार प्रहरीसहितको टोली पुग्दा कोही मानिस भेटिएनन् । घटना रहस्यमय देखिएकाले खोजी गर्न समस्या भइरहेको वडाध्यक्ष रविन श्रेष्ठले बताए ।

स्थानीय मोतिराज सापकोटाका अनुसार ४ दिनअघि बिहीबार सुँगुर काटेर भोज गरेपछि सम्पर्कविहीन भएका हुन् । १५ मिनेटको दूरीमा रहेका छिमेकीहरूले पनि शुक्रबारदेखि नदेखेको बताएका सापकोटाले जनाए । इलाका प्रहरी कार्यालय खुर्कोटको टोली, वडाध्यक्ष रविन श्रेष्ठसहित घरमै पुगेर खोजतलास गर्दा कोही नभेटिएको जनाएका छन् ।

वडाध्यक्ष श्रेष्ठका अनुसार भान्साघर जलेको अवस्थामा छ ।  भाँडाहरू अस्तव्यस्त भेटिएको छ । खोरमा पाँचवटा बाख्रा समेत भोकै अवस्थामा रहेका र कुकुर रोइरहेको अवस्थामा भेटिएको छ । अल्पसंख्यक लोपोन्मुख हायू जाति भएकाले सामाजिक सुरक्षा भत्ता लिँदा वडा तथा पालिकामा फोन नम्बर हुने भएकाले सम्पर्कको प्रयास गरिराखिएको अध्यक्ष श्रेष्ठले बताए । ‘कहाँ गए, कता गए अत्तोपत्तो छैन,’ श्रेष्ठले भने, ‘सम्पर्क गर्ने प्रयास जारी छ ।’

उनले हायु परिवारले सीमान्तकृत समुदायको सदस्यका रूपमा पाउने एक वर्षको भत्ता चार दिनअघि मात्र एकमुष्ट बैंकबाट बुझेका थिए । १६ जना हराए पनि १८ जनाको भत्ता निकासा भएको र सो रकम ८ लाख रूपैयाँ बढी हुन जान्छ । वडाध्यक्ष श्रेष्ठले सोमबार बिहान ११ बजेतिर मात्र सो घटनाबारे थाहा भएपछि प्रहरीसहित उर्मिलाको घरमा पुग्दा रहस्यात्मक घटनाहरु देखिएको बताए । उनले वरपर पाखातिर खोज्ने काम भइरहेको बताएका छन् ।

सिन्धुली प्रहरी प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले सम्पर्कविहीन भएका हायू परिवारको खोजतलास भइरहेको जनाए । ‘फोनको लोकेसन रामेछाप मन्थली देखिएको भन्ने आएको छ,’ उनले भने, ‘कतै घुम्न गएका हुन् कि भन्ने अनुमान छ । तर स्थलगत रूपमा कोही भेटिएका छैनन् ।’

अहिले स्थानीय बासिन्दा, स्थानीय प्रशासन (पालिका तथा वडा) र प्रहरीले खोजी सुरु गरेका छन् । बेपत्ता उर्मिला हायु परिवारको घर एकान्तमा भएकाले ढिलो गरी सूचना प्राप्त भएको गोलन्जोर गाउँपालिका अध्यक्ष शंकरराज बरालले  जानकारी दिए ।

‘घटना हेर्दा शुक्रबार, शनिबारबाटै उनीहरु सम्पर्कबिहीन भएको जस्तो देखिन्छ । घर एकलासमा भएकाले स्थानीयले पनि ढिलो गरी थाहा पाए । सोमबार बिहान जानकारी पाउनसाथ प्रहरीलाई खबर गरेर खोजी सुरु गरेका छौं’ अध्यक्ष बरालले भने ।

अनकन्टारमा घर रहेकाले छिमेकीहरूको समेत आवतजावत कम हुने गरेको पाइएको छ । हायू जातिलाई सरकारले लोपोन्मुख आदिवासी समुदायमा सूचीकृत गरेको छ । २०७८ को जनगणनाअनुसार हायू जातिको जनसंख्या ३ हजार ६९ रहेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७