प्रधानमन्त्रीले संसदमा सुनाए शायरी : धुलो अनुहारमा थियो, म ऐना पुछिरहें 


२०८२ श्रावण १४ बुधबार १६:४४ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा बैठकमा देशको अवस्था र कमजोरीको आत्ममूल्यांकन गर्नुपर्ने सन्दर्भमा एक शायरी सुनाएका छन् । उनले केही समयअघि गृहमन्त्री रमेश लेखकले सुनाएको मिर्जा गालिबको शायरीलाई सम्झँदै देशका समस्याहरूको जड आफ्नै कमजोरीमा खोज्नु पर्ने बताए।

बुधबार राष्ट्रियसभामा नेपालको स्तरोन्नति सम्बन्धी छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले भने, ‘केही अगाडि माननीय गृहमन्त्री रमेश लेखकजीले प्रतिनिधिसभामा गालिबको शायद एउटा शायरी सुनाउनु भएको थियो ।’ उनले सो शायरी उद्धृत गर्दै भने ‘एक ही भूल मैं जीवन भर करता रहा, धूल लगी थी चेहरे पे, पर मैं आईने को पोछता रहा ।’

उनले अर्थ सुनाए, ‘एउटै गल्ती म जीन्दगीभर गरिरहेँ, धुलो अनुहारमा लागेको थियो तर म ऐना पुछिरहें ।’ शायरीमार्फत उनले देशका समस्या र चुनौतीहरूको समाधानका लागि अरूलाई दोष दिनुको सट्टा आफ्नै कमजोरी हटाउनु पर्नेमा जोड दिए ।

‘आफ्नो अनुहार पनि सफा राखौँ, ऐना पनि पुछपाछ गरौं । अनुहारमा धुलो लागेको छ, तर ऐनामा आफूलाई कालो देखेर ऐना पुछेर हुँदैन,’ उनले भने । ओलीले नेपालले राष्ट्रिय रूपमा आफ्ना कमजोरीहरू हटाउनुपर्ने र यस्तो चुनौतीपूर्ण विश्व व्यवस्थामा एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिए । नकारात्मक दृष्टिकोण र आत्मश्लाघाबाट माथि उठेर यथार्थपरक हुन पनि उनले सबैलाई आग्रह गरे । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७