मुख्यमन्त्री लामाविरुद्ध अविश्वास प्रस्ताव पेश गर्ने यी हुन् कांग्रेसका २१ सांसद (सूची)

चितवन । नेपाली कांग्रेसबाट मुख्यमन्त्री निर्वाचित बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । आफ्नै मुख्यमन्त्रीसँग असन्तुष्ट भएर दलको नेता फेर्न बागमतीमा बहुसंख्यक कांग्रेस सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।
बागमती प्रदेशमा नेपाली कांग्रेसका ३७ सांसद छन् । तीमध्ये २१ जनाले राजीनामा माग गर्दै कांग्रेस संसदीय दलको नेताबाट बहादुर सिंह लामालाई हटाएर इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउन माग गरेका छन् ।
अविश्वाशको प्रस्तावमा लामाले बजेट प्रभावकारी कार्यान्वयन गर्न नसकेको, राजश्व संकलन र खर्चको अवस्था नाजुक रहेको, प्रदेशका जनताले महसुस हुने गरीको सेवा नपाएकोलगायतका आरोप लगाइएको छ । पार्टी सभापति शेरबहादुर देउवाले पद छोड्न दिएको निर्देशन नमानेपछि लामाविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनुपरेको कांग्रेस सांसदहरूले बताएका छन् ।
बागमती प्रदेशका कांग्रेस सभापति इन्द्र बानियाँको नेतृत्वमा लामालाई संसदीय दलको नेता हुँदै मुख्यमन्त्रीबाट पदमुक्त गराउन लागिएको हो । १३ पुस २०७९ मा बानियाँलाई पराजित गरी लामा संसदीय दलको नेता बनेका थिए । त्यसबेला लामाको पक्षमा २१ मत खस्दा बानियाँले १६ मत ल्याएका थिए ।
तत्कालीन समयमा निर्वाचित लामा र पराजित बानियाँ दुवै संस्थापन पक्षका हुन् । शुक्रबार संसदीय दलको दलका नेता लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा २१ जना सांसदले हस्ताक्षर गरेका छन् । संसदीय दलको नेता परिवर्तनका लागि हस्ताक्षर गर्नेहरूमा अघिल्लो पटक लामालाई मत दिने समेत छन् ।