दलको नेतामा पराजित लामाको अडान : मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्ने कारण नै छैन

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आफू कांग्रेस संसदीय दलको नेतामा पराजित भए पनि मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्ने कुनै कारण नभएको बताएका छन् ।
कांग्रेस बागमतीको संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि प्रतिक्रिया दिंदै उनले भने, ‘राजीनामा दिनुपर्ने कुनै आधार र कारण छैन । हामी संविधान अनुसार चल्ने हो ।’
उनले आफू नेतृत्वको सरकार संविधानको धारा १६८ को (२) अनुसार बनेकाले मुख्यमन्त्री बन्न दलको नेता नचाहिने उनको तर्क छ । संविधान अनुसार दुई वर्षसम्म सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने उनले दावी गरेका छन् । उनले सबैले स्थिर सरकार चाहेकाले आफू नेतृत्वको सरकार अहिले नढल्ने जिकिर गरे ।
नेपाली कांग्रेस बागमती संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन् । मुख्यमन्त्री बहादुरसिंह लामाले दलको नेताको हैसियत गुमाएसँगै आज भएको निर्वाचनमा बानियाँ २२ सांसदको मतसहित विजयी भएका हुन । लामाले १४ सांसदको मत पाएका छन् ।
एक मत बदर भएको छ । बागमतीमा कांग्रेसका कुल ३७ सांसद छन् । कांग्रेस बागमती प्रदेश सभापति समेत रहेका बानियाँले बहादुर सिंहसँग ३१ महिनाअघिको हारको बदला लिएका छन् । २०७९ पुस १३ गते बानियाँलाई लामा संसदीय दलको नेतामा निर्वाचित भएका थिए । त्यतिबेला लामाले २१ र बानियाँले १६ मत प्राप्त गरेका थिए ।