सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकार भ्रष्टाचारको नभई भ्रष्टाचार नियन्त्रणको पर्याय भएको दावी गरेका छन् । सरकारले भ्रष्टाचारविरुद्ध कारबाही अघि बढाउँदा उल्टै सरकारलाई नै भ्रष्टाचारी देख्ने प्रवृत्ति मौलाएको भन्दै उनले आक्रामक शैलीमा प्रतिवाद गरे ।
आज (बुधबार) राष्ट्रियसभामा सम्बोधन गर्ने क्रममा उनले भ्रष्टाचार नियन्त्रणमा सरकारले लिएको अडानलाई गलत रूपमा व्याख्या गरिएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे । उनले भने, ‘एक–दुई भ्रष्टाचारीलाई कारबाही गर्दिएपछि मानिसहरू भन्छन्–देख्यौ त, भ्रष्टाचार भएको रहेछ नि ! छर्लङ्गै देखियो ।’
कारबाही गर्दा भ्रष्टाचार बाहिर आउने र नगर्दा लुकेर बस्ने तर्क प्रस्तुत गर्दै उनले व्यङ्ग्यात्मक शैलीमा प्रश्न गरे, ‘कारबाही नगरिदिए राम्रो ? त्यसो गर्दा त भ्रष्टाचार देखिँदैन नि ! कारबाही गर्यो भने चाहिँ ‘ल, फ्याल् फ्याल् रहेछ नि भ्रष्टाचार’ भन्ने?’
उनले सरकार आफ्नो भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न भन्ने प्रतिबद्धतामा अडिग रहेको स्पष्ट पारे । ‘कसैले भ्रष्टाचार गर्यो भने कारबाही हुन्छ । कसैलाई पनि छोडिँदैन । भ्रष्टाचार नियन्त्रण गर्ने भनेको यही त हो,’ उनले आफ्नो अडान दोहोर्याए । उनले सरकारमाथि लाग्ने आरोपको खण्डन गर्दै भने, ‘अनि सरकार कहाँबाट भ्रष्टाचारको पर्याय हुन्छ ? सरकार त भ्रष्टाचार नियन्त्रणको पर्याय बनेको छ ।’