‘देउवा र ओलीको नेतृत्वले नेपाललाई अन्तर्राष्ट्रिय रूपमा पत्याउने वातावरण बनेको छ’


२०८२ श्रावण १४ बुधबार १५:२० बजे

पोखरा । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले दुई ठूला पार्टीको गठबन्धनले देशलाई अगाडि बढाएको बताएकी छन् । आज (बुधबार) पोखरामा बगैँचा रिसोर्ट उद्घाटन गर्दै उनले नेपालमा केही पनि भएको छैन भन्ने गलत भाष्य निर्माण भएको बताइन् ।

‘दुई पार्टीका सिनियर पोलिटिसियनले धेरै सोचेर गठबन्धन गर्नु भएको हो,’ उनले भनिन्, ‘यसले देशलाई अगाडि बढाउँछ भन्ने उहाँहरूको जुन एउटा आशा थियो, एउटा भिजन थियो, त्यो भिजन हो रहेछ भन्ने अहिले हामीले देखेका पनि छौं ।’

कूटनीतिको क्षेत्रमा धेरै कुरा अगाडि बढेको बताउँदै उनले यसमा आफू एक्लैको मात्रै भूमिका नभएको बताइन् । ‘देउवाजी र ओलीजीको लिडरसिपले नै नेपाललाई अहिले अन्तर्राष्ट्रिय रूपमा पत्याउने वातावरण बनेको छ,’ उनले भनिन्, ‘त्यो वातावरणको मात्रै मैले गुड युज गरेको हो । अंग्रेजी बोल्न जान्दैमा डिप्लोमेसी हुँदैन । यो देश कस्तो छ र त्यो देशले कस्तो गरिरहेछ भन्नेमा पनि भर पर्छ ।’ 

परराष्ट्रमन्त्री डा.  देउवाले पोखरा साहसिक पर्यटनको हबका रूपमा विकसित भएको बताएकी छिन् । उनले पोखरा आफैमा प्राकृतिक रूपमा सुन्दर सहरका रूपमा स्थापित भइसकेको उल्लेख गरिन् । आफू बाल्यकालमा पोखरामा आएको स्मरण गर्दै मन्त्री देउवाले त्यसबेलामा यहाँको सुन्दरताले लोभ्याएको धारणा राखिन् । पछिल्लो समयमा जलवायु परिवर्तनका असर सबै क्षेत्रमा परिरहेको उल्लेख गर्दै उनले उत्तर र दक्षिणतर्फका छिमेकमा बाढीको प्रभाव बढिरहेको समाचारहरू आएकाले हामी पनि सर्तक रहनुपर्नेमा जोड दिइन् । 

यहाँ पनि अनावृष्टि र अतिवृष्टिको त्रास बढ्दै गइरहेको बताउँदै मन्त्री देउवाले जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्नेगरी सहकार्य र समन्वयमार्फत दिगो विकासमा सबै केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याइन् । जैविक विविधताको संरक्षणका लागि नेपालले महत्वपूर्ण योगदान गरिरहेको बताउँदै उनले पोखरामा सञ्चालित बगैँचा रिसोर्टले यस विषयलाई प्राथमिकतामा राखेको भन्दै प्रशंसा गरिन् ।

‘रिसोर्टमार्फत स्वदेशमा केही गर्नुपर्छ भन्ने सन्देश समेत दिन खोजिएको छ । विदेशमा गरिने मेहनतले केवल पैसा मात्र आर्जन हुने भए पनि यहाँ गरिने मिहिनेतले स्वदेशमा योगदानसँगै इज्जत पनि प्राप्त हुन्छ’, मन्त्री देउवाले भनिन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७