‘उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउनु पर्ने ओलीजीको धारणामा म पनि सहमत छु’

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यकताअनुसार संविधान संशोधन गरिने बताएका छन् ।
आज (शुक्रबार) काठमाडौंमा सहिद स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष स्वर्गीय ढुण्डीराज शास्त्रीको स्वर्गारोहणको ४५औँ दिनको स्मृतिमा आयोजित संघीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधान विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले संविधान बहुलवादमा आधारित रहेकाले बदलिँदो समयको मागअनुसार संशोधन गर्न सकिने धारणा व्यक्त गरे।
‘नेपालको संविधान बहुलवादमा आधारित छ । संविधान संशोधनका विषयमा अहिले सबै क्षेत्रबाट आवाज उठिरहेका छन् । राष्ट्रियसभाको सभापति र उपसभापतिलाई राख्नु पर्छ भन्ने धारणा छ । त्यसैले आवश्यकताअनुसार संविधान संशोधन हुन्छ’, उनले भने ।
उनले भने, ‘संविधान संशोधनको आवाज उठ्नु स्वभाविक कुरा हो । आवश्यकता अनुसार संशोधन हुन्छ नै । राष्ट्रिय सभाको अध्यक्ष उपराष्ट्रपतिलाई बनाउनु पर्छ भन्ने धारणा ओलीजीको छ । त्यो पक्षमा म पनि छु, भारतसहित अन्य देशमा पनि त्यस्तो व्यवस्था छ ।’
उनले नाममा कम्युनिष्ट भए पनि व्यवहारमा सबै पार्टीहरूले प्रजातान्त्रिक समाजवादी पार्टीको रूपमा काम गरिरहेको बताए । अहिलेको व्यवस्था अनुसार कुनै पनि दलको बहुमत आउन गाह्रो भएकाले अरू दलसँग मिल्नुपर्ने बाध्यता रहेको बताए ।