कांग्रेस बागमती संसदीय दलको नेतामा बानियाँ निर्वाचित, लामाको मुख्यमन्त्री पद ‘धरापमा’

काठमाडौं । नेपाली कांग्रेस बागमती संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन् । मुख्यमन्त्री बहादुरसिंह लामाले दलको नेताको हैसियत गुमाएसँगै आज भएको निर्वाचनमा बानियाँ २२ सांसदको मतसहित विजयी भएका हुन । लामाले १४ सांसदको मत पाएका छन् ।
एक मत बदर भएको छ । बागमतीमा कांग्रेसका कुल ३७ सांसद छन् । कांग्रेस बागमती प्रदेश सभापति समेत रहेका बानियाँले बहादुर सिंहसँग ३१ महिनाअघिको हारको बदला लिएका छन् । २०७९ पुस १३ गते बानियाँलाई लामा संसदीय दलको नेतामा निर्वाचित भएका थिए । त्यतिबेला लामाले २१ र बानियाँले १६ मत प्राप्त गरेका थिए ।
लामाविरुद्ध मंगलबार संसदीय दलमा अविश्वास प्रस्ताव पारित भएको थियो । कांग्रेसको बागमती प्रदेश सभा संसदीय दलमा ३७ सदस्य रहेकामा अविश्वास प्रस्तावको पक्षमा २२ मत परेको थियो । संसदीय दलको नेतामा पराजित भएसँगै बहादुर सिंहको मुख्यमन्त्री पद धरापमा परेको छ । यद्यपि उनले अहिले नै राजीनामा दिनु नपर्ने बताउँदै आएका छन् ।
आफू दलको नेताको हैसियतमा भन्दा पनि गठबन्धनका तर्फबाट मुख्यमन्त्री भएको भन्दै संवैधानिक व्यवस्थाअनुसार अघि बढ्ने लामाले बताए । ‘राजीनामा गर्नुपर्ने अवस्था नै छैन। यो गठबन्धन सरकार हो,’ मुख्यमन्त्री लामाले भने ।
मन्त्रीबाट राजीनामा दिएका मीनकृष्ण महर्जनले भने बहादुर सिंहले पद छाड्नु पर्ने बताए । ‘वर्ष दिनअघि वर्तमान मुख्यमन्त्री र इन्द्र बानियाँबीच आधा आधा कार्यकाल मुख्यमन्त्री बन्ने लिखित सहमति भएको थियो,’ महर्जनले भने, ‘लिखित सहमति अनुसार राजिनामा नदिएकाले बाध्य भएर हामी बहुमत सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गरेका हौं । संसदीय दलको नेता नै मुख्यमन्त्री हुने नेपाली कांग्रेसको विधानमा प्रष्ट छ ।’
बहादुर सिंह २०८१ साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । बजेट विवादका कारण आफ्नै गुटका सांसदहरु विपक्षमा उभिएपछि उनीविरुद्ध बानियाँले साउन ९ गते कांग्रेस संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । आफ्नै पार्टीमा विश्वासको मत गुमाएका बहादुर सिंहले बुधबार तीन जना मन्त्री नियुक्त गर्न खोजेकामा सत्ता सहयात्री नेकपा एमालेले त्यो बाटोमा नजान भनेपछि लामा ब्याक भएका थिए ।