इरान–इजरायल युद्धमा सहभागी नहुन ट्रम्पलाई खामेनीको चेतावनी

काठमाडौं । इरानका सर्वोच्च नेता अयतुल्लाह अली खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई युद्धमा नजान चेतावनी दिएका छन्। उनले टेलिग्राममा पुरानो टेलिभिजन वक्तव्य पुनः सार्वजनिक गर्दै अमेरिका यदि इजरायलसँगको जारी तनावका बीच युद्धमा होमियो भने त्यसको ‘गम्भीर नतिजा’ भोग्नुपर्ने चेतावनी दिएका छन्।
खामेनीले भिडियो सन्देशमा भनेका छन्, ‘अमेरिका यदि यो युद्धमा प्रवेश गर्छ भने, त्यसले भोग्ने क्षति इरानले भोग्ने सम्भावित क्षतिभन्दा धेरै गम्भीर र गहिरो हुनेछ।’ इरान–इजरायल द्वन्द्व चर्किरहेका बेला अमेरिका तनावलाई नियन्त्रणमा राख्ने प्रयासमा देखिए पनि खामेनीको यो चेतावनीले परिस्थिति थप जटिल बन्ने संकेत दिएको छ। पछिल्ला दिनमा इरानले इजरायली लक्ष्यमा मिसाइल आक्रमण गरेको छ।
नेपाली समय अनुसार आइतबार बिहान मात्र अमेरिकाले इरानका तीन आणविक केन्द्रमा आक्रमण गरेको जनाइएको छ। राष्ट्रपति ट्रम्पका अनुसार अमेरिकाले फोर्डो, नतांज र इस्फहान आणविक केन्द्रमा आक्रमण गरेको छ। यसअघि खामेनीले इरानको सार्वभौमिकता र सुरक्षामाथि आक्रमण भएमा कडा प्रतिरोध हुने बताउँदै आएका थिए।