मलाई लगातार मार्ने धम्कीहरू आइरहन्छन्, इरानको डरले टर्कीबाट फर्किँदा विमान बदलेकै हो : ट्रम्प
‘कतारले दिएको विमानबाट गए, सैन्य विमानबाट फर्किए’
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीबाट फर्किने क्रममा इरानबाट हुन सक्ने आक्रमणको जोखिमका कारण आफ्नो विमान परिवर्तन गरेको स्वीकार गरेका छन्।
पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले नाटो शिखर सम्मेलनमा सहभागी हुन टर्की जाँदा प्रयोग गरेको विमानमाथि आक्रमणको जोखिम रहेको सुरक्षा निकायले आकलन गरेको बताए। त्यसैले आफूलाई विमानस्थलको क्याटरिङ ट्रकमा राखेर अर्को विमानसम्म पुर्याइएको उनले बताए।
‘यदि कुनै आक्रमण हुन्थ्यो भने त्यही विमानलाई निसाना बनाइन्थ्यो। सुरक्षा निकायहरूले जे भन्छन्, म त्यही गर्छु। मलाई लगातार धम्कीहरू आइरहन्छन्,’ ट्रम्पले भने।
कतारले दिएको विमानबाट गए, सैन्य विमानबाट फर्किए
वासिङ्टन पोस्टका अनुसार ट्रम्प जुलाई ८ मा टर्कीको अंकाराबाट प्रस्थान गर्दा बोइङ ७४७–८ विमानमा सवार भएका थिए। उक्त विमान कतारले अमेरिकालाई दिएको हो र ट्रम्पले त्यसैबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय यात्रा गरेका थिए।
तर अंकारा विमानस्थलबाट फर्किने क्रममा उनलाई सामान तथा खाना ओसार्ने क्याटरिङ गाडीको सहायताले गोप्य रूपमा अमेरिकी वायुसेनाको भीआईपी सैन्य विमान सी–३२ए सम्म पुर्याइएको थियो।
पुरानो एयरफोर्स वनमा रहेका पत्रकारहरूलाई ट्रम्प पनि त्यही विमानमा यात्रा गरिरहेका छन् भन्ने लागेको थियो। रिपोर्टअनुसार ह्वाइट हाउसका केही कर्मचारीलाई समेत उनको वास्तविक यात्रा योजनाबारे जानकारी थिएन।
उडानका क्रममा पत्रकारहरूलाई विमानका झ्यालका सेड बन्द राख्न भनिएको थियो। सामान्यतया सम्भावित सुरक्षा जोखिम भएको क्षेत्रमा उडान गर्दा यस्तो सावधानी अपनाइन्छ।पछि पत्रकारहरूले झ्यालका सेड बन्द राख्नुको कारण सोध्दा ट्रम्पले आफूहरू ‘सायद खतरनाक उडानमा’ रहेको बताएका थिए।
ट्रम्पलाई बोकेको सी–३२ए विमान राति करिब १०ः२० बजे बेलायतको आरएएफ मिल्डेनहल एयरबेसमा अवतरण गरेको थियो। त्यसको केही मिनेटपछि पत्रकारहरू सवार पुरानो एयरफोर्स वन पनि त्यहाँ पुगेको थियो।
सी–३२ए बाट ओर्लिएपछि ट्रम्प पुरानो एयरफोर्स वनसम्म कसरी पुगे भन्ने स्पष्ट नभए पनि उनी राति करिब १०ः५६ बजे उक्त विमानको भर्याङबाट ओर्लिएको देखिएको पत्रकारहरूले बताएका छन्।
ट्रम्पले पत्रकारहरूतर्फ हात हल्लाए तर उनीहरूसँग कुराकानी गरेनन्। त्यसपछि उनले अमेरिकी सैनिकहरूसँग भेट गरे र कतारबाट प्राप्त नयाँ विमानतर्फ गएका थिए।
राष्ट्रपतिको यात्रा लुकाइएको यो पहिलोपटक होइन
राष्ट्रपतिको सुरक्षाका लागि वास्तविक यात्रा तथा विमानको पहिचान गोप्य राख्ने अभ्यास नयाँ भने होइन। सन् २००० मा तत्कालीन राष्ट्रपति बिल क्लिन्टन पाकिस्तान भ्रमणमा जाँदा राष्ट्रपतिको विमानको पहिचान नखुल्ने गरी अर्को सरकारी विमान प्रयोग गरिएको थियो। वास्तविक एयरफोर्स वनलाई भने फरक मार्गबाट पठाइएको थियो, ताकि राष्ट्रपति कुन विमानमा छन् भन्ने सहजै पहिचान गर्न नसकियोस्।
ट्रम्प टर्की जाँदा प्रयोग गरेको बोइङ ७४७–८ विमान कतारको शाही परिवारले अमेरिकालाई दिएको हो। अमेरिकी रक्षा कम्पनी एलथ्रीह्यारिस टेक्नोलोजिजले उक्त विमानलाई राष्ट्रपतिको यात्राका लागि तयार पारिरहेको छ।
ट्रम्पले पहिलोपटक जुलाई १ मा नर्थ डकोटा भ्रमणका क्रममा उक्त विमान प्रयोग गरेका थिए। त्यसको केही दिनपछि उनी यही विमानबाट आफ्नो पहिलो विदेश भ्रमणका लागि टर्की पुगेका थिए।
तर उक्त विमानमा पुरानो एयरफोर्स वनमा जस्तो राष्ट्रपतिको सुरक्षाका लागि आवश्यक सबै विशेष सुरक्षा प्रणाली छन् कि छैनन् भन्नेबारे प्रश्न उठ्दै आएको छ। अमेरिकी सञ्चारमाध्यमका रिपोर्टअनुसार पुरानो एयरफोर्स वनमा राष्ट्रपतिलाई सम्भावित आक्रमणबाट जोगाउन विशेष सुरक्षा प्रणालीहरू जडान गरिएका छन्, जबकि कतारबाट प्राप्त विमानमा त्यस्ता प्रणालीको अवस्था वा क्षमता फरक हुन सक्छ।
कतारबाट प्राप्त विमानको सुरक्षाबारे उठेका प्रश्नको जवाफ दिँदै ह्वाइट हाउसका सञ्चार निर्देशक स्टिभ चेउङले ट्रम्प र उनीसँग यात्रा गर्ने व्यक्तिहरूको सुरक्षाका लागि आवश्यक सबै व्यवस्था गरिएको बताएका छन्।
‘अमेरिकाका धेरै शत्रुहरू ट्रम्पलाई निसाना बनाउन चाहन्छन्। त्यसैले उनको सुरक्षाका लागि हामी हरेक आवश्यक तरिका अपनाउँछौँ,’ उनले भने।
ह्वाइट हाउसले नयाँ विमानमा सुरक्षाको कमी रहेको स्वीकार गरेको छैन। आवश्यकता परेको अवस्थामा राष्ट्रपतिको सुरक्षाका लागि फरक–फरक उपाय अपनाउन सकिने उसको भनाइ छ। यस विषयमा अमेरिकी रक्षा विभाग (पेन्टागन) ले भने तत्काल कुनै प्रतिक्रिया दिएको छैन।
.gif)

.png)

