अमेरिकाले इरानको लाराक द्वीपका दुई सैन्य अखडामा हमला गर्यो
काठमाडौं : अमेरिकी सेनाले इरानको लाराक द्वीपमा रहेका दुई सैन्य अखडालाई लक्षित गर्दै हमला गरेको छ। जुलाईपछि इरानमाथि अमेरिकाले गरेको यो पहिलो ज्ञात सैन्य कारबाही भएको बताइएको छ।
अमेरिकी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार अमेरिकी सेनाले लाराक द्वीपमा रहेका दुई सैन्य संरचनालाई निशाना बनाएको हो। बीबीसीका अमेरिकी साझेदार सीबीएस न्युजका अनुसार अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता कमान्डर टिम हकिन्सले इरानी रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले होर्मुज जलडमरूमध्यमा समुद्री बारुदी सुरुङ राख्ने तथा रकेट प्रहार गर्ने तयारी गरिरहेको देखिएपछि कारबाही गरिएको बताएका छन्।
अमेरिकी हमलापछि आईआरजीसीले उक्त कारबाहीमा धेरै मानिस मारिएको तथा घाइते भएको दाबी गरेको छ। साथै उसले अमेरिकाविरुद्ध ‘प्रतिशोधात्मक कारबाही र सजाय’ गर्ने चेतावनी दिएको छ।
यसैबीच, इरानी सरकारी सञ्चारमाध्यमले आईआरजीसीले जोर्डनमा रहेका अमेरिकी सैन्य अखडामाथि हमला गरेको दाबी गरेका छन्। उक्त दाबीबारे अमेरिकी सेन्ट्रल कमान्डको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन। आईआरजीसीको दाबीपछि जोर्डनको सेनाले आफ्नो वायु रक्षा प्रणालीले जोर्डनको हवाई क्षेत्रमा प्रवेश गरेका आठ क्षेप्यास्त्र खसालेको जनाएको छ।
गत जुलाईको अन्त्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य अभियान रोक्ने घोषणा गरेका थिए। त्यसयता इरानमाथि अमेरिकाले गरेको यो पहिलो ज्ञात सैन्य हमला भएको बताइएको छ। पछिल्लो घटनाक्रमले अमेरिका र इरानबीचको तनाव पुनः बढ्न सक्ने संकेत देखिएको छ।
.gif)

.png)

