इरानमाथि अमेरिकी दबाब बढेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट
तेलको मूल्यमा गिरावटसँगै एसियाली सेयर बजारमा पनि दबाब
वासिङ्टन डिसी : इरानमाथि अमेरिकी आर्थिक दबाब थप कडा हुने संकेतसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप आर्थिक कारबाही घोषणा गरेपछि सोमबार तेल बजारमा गिरावट देखिएको हो। अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य २ दशमलव ३ प्रतिशतले घटेर प्रतिब्यारेल करिब ९२ अमेरिकी डलरमा झरेको छ।
अमेरिकी कच्चा तेलको मूल्यमा पनि समान दरमा गिरावट आएको छ। तेलको मूल्य घटेसँगै एसियाली सेयर बजारमा समेत मिश्रित प्रभाव देखिएको छ। दक्षिण कोरियाको प्रविधि क्षेत्र केन्द्रित कोस्पी सूचक १ दशमलव ४ प्रतिशतले घटेको छ। टोकियो, साङ्घाई, ताइपेई र वेलिङ्टनका बजार पनि ओरालो लागेका छन्।
यद्यपि सिड्नी, जकार्ता र बैङ्ककका बजारमा भने वृद्धि देखिएको छ। मनिला र क्वालालम्पुरका बजार स्थिर रहेका छन्। हङकङको सेयर बजार सोमबार २ प्रतिशतभन्दा बढीले घटेको छ। यसबीच लगानीकर्ताको ध्यान कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा भइरहेको तीव्र लगानीतर्फ समेत केन्द्रित भएको छ। विश्वकै मूल्यवान कम्पनीमध्ये एक अमेरिकी चिप निर्माता एनभिडियाको आगामी आम्दानी प्रतिवेदनलाई लगानीकर्ताले विशेष चासोका साथ हेरिरहेका छन्।
एआई प्रविधिको विस्तारसँगै कम्पनीहरूले ठूलो लगानी गरिरहेका बेला त्यसबाट अपेक्षित प्रतिफल हासिल हुने वा नहुने विषयमा बजारमा आशावादी र चिन्तित दुवै धारणा देखिएको छ। एसपीआई एसेट म्यानेजमेन्टका स्टेफन इनिसले एआई क्षेत्रमा लगानी जारी रहे पनि त्यसको लागत बढ्दै गएको बताएका छन्। उनका अनुसार ठूलो लगानीबाट पर्याप्त प्रतिफल हासिल गर्न सक्ने क्षमता एनभिडियाले प्रमाणित गर्नुपर्ने चुनौती रहेको छ।
उता चिनियाँ प्रविधि कम्पनी अलिबाबाले एआई क्षेत्रमा लगानी विस्तार गर्न हङकङमा १० दशमलव २ अर्ब अमेरिकी डलर बराबरको नयाँ सेयर निष्कासन गर्ने योजना सार्वजनिक गरेको छ। कम्पनीले उक्त रकम विश्वव्यापी एआई पूर्वाधार र प्रविधि विस्तारमा प्रयोग गर्ने जनाएको छ। ‘फास्ट फेसन’ कम्पनी शिनले आगामी सेप्टेम्बर १ मा हङकङमा सेयर सूचीकरण गर्ने घोषणा गरे पनि त्यसले बजारमा सकारात्मक प्रभाव पार्न सकेन। उक्त सूचीकरणपछि कम्पनीको मूल्याङ्कन करिब २७ अर्ब डलर पुग्ने अनुमान गरिएको छ।
अमेरिकाले इरानमाथि आर्थिक दबाब थप बढाउने तयारी गरिरहेका बेला अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले यसबारे थप जानकारी दिने अपेक्षा गरिएको छ। अमेरिकाले आफ्ना सहयोगी राष्ट्रसँगै चीनलाई समेत अभियानमा सहभागी हुन आग्रह गरेको छ। अर्कोतर्फ, लगानीकर्ताको ध्यान यस साता अमेरिकाको ज्याक्सन होलमा हुने केन्द्रीय बैंकका अधिकारी, अर्थशास्त्री तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूको वार्षिक भेलातर्फ पनि केन्द्रित भएको छ। अमेरिकी मौद्रिक नीतिको आगामी दिशाबारे त्यहाँबाट थप संकेत आउने अपेक्षा गरिएको छ।
अमेरिकी मुद्रास्फीति, बढ्दो सरकारी ऋण र मौद्रिक नीतिको अनिश्चितताबीच विश्व बजारमा तेल तथा सेयरको उतारचढावले आगामी दिनमा लगानीकर्ताको जोखिम धारणा प्रभावित पार्न सक्ने देखिएको छ।
- एजेन्सी
.gif)

.png)

