अमेरिका–इरान तनाव थप चर्कियोः ब्यारोन ट्रम्पलाई निशाना बनाउँदै इरानी टेलिभिजनमा भिडियो
होर्मुज बन्द गर्ने इरानको चेतावनी
अमेरिका र इरानबीच जारी तनाव थप चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका २० वर्षीय छोरा ब्यारोन ट्रम्पलाई लक्षित गर्दै इरानी राज्य टेलिभिजनमा प्रसारित भिडियोमा उनको हत्या गर्नेलाई १ करोड अमेरिकी डलर इनाम दिने दाबी गरिएको छ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)सँग सम्बद्ध सञ्चारमाध्यमबाट तयार पारिएको र राज्य टेलिभिजनको च्यानल–३ बाट प्रसारित उक्त भिडियोमा ब्यारोनका सम्भावित गतिविधि, विश्वविद्यालय क्षेत्र तथा उनको सुरक्षासँग सम्बन्धित विवरणलाई ग्राफिक्समार्फत प्रस्तुत गरिएको थियो। भिडियोमा उनको सुरक्षा घेरा पार गर्ने सम्भावनाबारे समेत दाबी गरिएको छ।
यद्यपि, १ करोड डलरको इनाम वास्तवमै इरान सरकारको औपचारिक निर्णय हो भन्ने स्वतन्त्र पुष्टि भएको छैन। भिडियोमा प्रस्तुत गरिएका सुरक्षा तथा गतिविधिसम्बन्धी दाबी पनि स्वतन्त्र रूपमा प्रमाणित हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
ब्यारोनमाथिको उक्त भिडियो सार्वजनिक भएको समयमा अमेरिका र इरानबीच आर्थिक तथा सैन्य तनाव पनि बढिरहेको छ। अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्टले इरानमाथि थप प्रतिबन्ध घोषणा गर्दै तेहरानको वित्तीय पहुँच कमजोर पार्ने नीति अघि बढाएका छन्। नयाँ प्रतिबन्धमा इरानसँग सम्बन्धित दर्जनौँ व्यक्ति, संस्था र पानीजहाजलाई लक्षित गरिएको छ।
अमेरिकी प्रशासनले इरानसँग आर्थिक कारोबार जारी राख्ने देश तथा संस्थालाई समेत प्रतिबन्धको जोखिम हुने चेतावनी दिएको छ। ट्रम्प प्रशासनले इरानमाथि आर्थिक दबाब बढाउँदै ‘अधिकतम दबाब’को रणनीतिलाई थप कडा बनाएको छ।
उता, इरानले पनि अमेरिकी दबाबको प्रतिकार गर्ने चेतावनी दिएको छ। विशेषगरी स्ट्रेट अफ होर्मुजलाई लिएर तनाव बढेको छ। इरानले अमेरिकी प्रतिबन्ध तथा दबाब जारी रहे तेल निर्यात अवरुद्ध पार्न सक्ने चेतावनी दिएको छ। होर्मुज विश्वको महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक भएकाले त्यहाँको अवरोधले विश्वव्यापी ऊर्जा आपूर्तिमा असर पार्न सक्ने चिन्ता बढेको छ।
यसैबीच, क्षेत्रीय तनाव कम गर्ने कूटनीतिक प्रयास पनि जारी छन्। पाकिस्तानका उच्च अधिकारीहरूले तेहरानसँग संवादमार्फत तनाव घटाउने प्रयास गरिरहेका छन्। तर अमेरिका र इरानबीच आर्थिक दबाब, सैन्य विकल्प र रणनीतिक समुद्री मार्गलाई लिएर जारी टकरावका कारण तत्काल तनाव कम हुने संकेत भने कमजोर देखिएको छ।
- एजेन्सी
.gif)

.png)

