हेटौंडाका वडाध्यक्षमाथि कार्यकक्षमै आक्रमण

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१ का अध्यक्ष तथा उपमहानगरका प्रवक्ता सविन न्यौपानेमाथि कार्यकक्षमै आक्रमण भएको छ। वडाध्यक्ष तथा नगर प्रवक्ता न्यौपानेमाथि कार्यकक्षमै मोबिल छ्यापिएको हो। बुधबार अपराह्न ४ बजेतिर चाइना क्वाटरस्थित वडा कार्यालयमा कालो पोसाकमा मोटरसाइकलमा आएका ३–४ जनाको अपरिचित व्यक्तिको समूहले अध्यक्ष न्यौपानेमाथि मोबिल छ्यापेर फरार भएका हुन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार ती व्यक्ति नम्बर नखुलेको दुईवटा मोटरसाइकलमा आएर अध्यक्षमाथि मोबिल छ्यापेर भागेका हुन्। प्रहरीका अनुसार अध्यक्ष न्यौपानेको टाउको, शरीर र कपडामा कालो मोबिल छ्यापिएको छ । घटनापछि फरार व्यक्तिहरुको खोजी तीव्र पारिएको प्रवक्ता अर्यालले बताए।
मोबिल प्रहारको कारण भूमिहीन सुकुम्बासी व्यवस्थापनसम्बन्धी विवाद हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । घटनास्थलमा ‘भूमिहीन सुकुम्बासी’ शीर्षक लेखिएको खाली रेकर्ड फाइल समेत फेला परेको प्रहरीले जनाएको छ। उपमहानगरपालिकाले केही समयदेखि हेटौंडा अस्पताल पछाडि स्वर्गलोक क्षेत्रमा रहेको सार्वजनिक जमिनमा निर्माण गरिएका अवैध टहरा हटाउन अभियान सञ्चालन गरिरहेको छ।
सोही बिषयलाई लिएर असन्तुष्ट भएकाहरुले वडा अध्यक्ष न्यौपानेमाथि आक्रमण गरेको हुन सक्ने अनुमान गरिएको छ। केही समयअघि उपमहानगरपालिकाको कार्यपालिका बैठकले स्थानीय तह सञ्चालन ऐन २०७४, मुलुकी देवानीसंहिता २०७४ लगायतका कानुनको पालना गर्दै सार्वजनिक जमिनको संरक्षणका लागि कदम चालेको थियो । प्रहरीले घटनास्थलको सिसिटिभी फुटेज संकलन गरी विश्लेषण कार्य अघि बढाएको र आक्रमणकारीको पहिचान तथा पक्राउका लागि अनुसन्धान जारी रहेको बताएको छ। वडा अध्यक्ष न्यौपानेमाथि भएको सांघातिक आक्रमणको विषयलाई लिएर उपमहानगरपालिकाले आकस्मिक बैठक बोलाएको छ।