बलात्कार मुद्दामा मधेसका पूर्व प्रदेश प्रमुख अहिराज पुर्पक्षका लागि थुनामा


२०८२ श्रावण १४ बुधबार १७:५२ बजे
फाइल फोटो

काठमाडौं । बलात्कार मुद्दामा मधेसका पूर्व प्रदेश प्रमुख अहिराज भनिने राजेश झा पुर्पक्षका लागि थुनामा गएका छन् । आज (बुधबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको इजलासले अहिराजलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए ।

मंगलबार सरकारी वकिलको कार्यालय काठमाडौंले अहिराजविरूद्ध बलात्कार कसुरमा मुद्दा दायर गरेको थियो । काठमाडौंको बानेश्वरमा रहेको एक होस्टलमा बस्दै आएकी युवतीलाई बलात्कार गरेको आरोप अहिराजमाथि छ ।

अहिराज साउन ४ गते काठमाडौंबाट पक्राउ परेका थिए । गत माघ ३ गते उनीविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता भएको थियो । जाहेरी दर्ता गरे पनि प्रहरीले अहिराजविरूद्ध अदालतबाट पक्राउ पुर्जी लिएको थिएन । प्रहरीले चैत २५ गते जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको थियो ।

उक्त पक्राउ पुर्जी जारी भएको थाहा भएपछि अहिराज फरार थिए । घटना २०८१ जेठ ४ गतेको हो । अहिराजलले त्यस दिन आफ्नो कोठामा कोही नभएको बेलामा पटक–पटक बलात्कार गरेको आरोप छ । उक्त घटनापछि पनि कसैलाई बताएपछि मार्ने समेतको धम्की दिएको पीडितको भनाइ छ ।

बलात्कारको घटना भएको केही समयपछि पीडित जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेकी थिइन् । पीडितले जाहेरी दर्ता गर्न खोजे पनि प्रहरीले नगरेको आरोप छ । पटक–पटक प्रयास गर्दा पनि दर्ता गर्न इन्कार गरेपछि पीडित युवती जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पुगेकी थिइन् ।

उनले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा कात्तिक २८ गते जाहेरी निवेदन दिएकी थिइन् । पछि सरकारी वकिलको कार्यालय काठमाडौंले उक्त जाहेरी दर्ता गराउन परिसरलाई पत्राचार गरेको थियो । कार्यालयले कात्तिक ३० गते परिसरमा पत्राचार गरेको हो । सरकारी वकिलले पत्राचार गरेको केही महिनापछि मात्रै माघमा उक्त जाहेरी दर्ता गरी प्रक्रिया अघि बढाएको थियो।

अहिराज २०७७ फागुन ७ देखि २०७८ साउन ३२ सम्म मधेस प्रदेश प्रमुख थिए । यस्तै अहिराजले पनि पीडित युवतीविरूद्ध जाहेरी दिएका थिए । आपराधिक लाभ लिन नहुने कसुरमा अहिराजले जाहेरी दिएका थिए । ती युवतीविरूद्ध पनि बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । अहिराजले जाहेरीमा बेलाबेलामा युवतीले रकम माग गरेको पनि दाबी गरेका छन् । २०८१ भदौ १८ गते युवतीले बैंकको नम्बर दिएर रकमको माग गरेको पनि अहिराजले बताएका छन् । 

पछि नगद नै माग गरेको भनेर २० लाखमध्ये तीन लाख रुपैयाँ नगद लिएर आफू युवतीको होस्टलमा पुगेको पनि अहिराजले जाहेरीमा उल्लेख गरेका छन् ।  पीडित युवतीले भने उक्त रकम आफ्नै भएको पनि सरकारी वकिलसँग बयानमा बताएकी छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७