युनुस अन्सारीको बन्दी प्रत्यक्षीकरणको रिट खारेज


२०८२ असार ३ मंगलबार २३:११ बजे

काठमाडौं : युनुस अन्सारीको बन्दी प्रत्यक्षीकरणको रिट खारेज भएको छ। जेलबाट छुट्ने बित्तिकै केन्द्रीय अनुसन्धान ब्युरोले पक्रेको भन्दै अन्सारी बन्दी प्रत्यक्षीकरणको रिट लिएर उच्च अदालत पाटन पुगेका हुन्।

गत १० जेठमा तोकिएको सजाय भुक्तान गरेर ललितपुरको नख्खु कारागारबाट छुटेलगत्तै अन्सारीलाई सीआईबीले पक्राउ गरेको थियो । उनीमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसयता उनी सीआईबीको हिरासतमा छन् ।

अन्सारी पहिलो पटक २०६६ पुस १३ मा २५ लाख ४४ हजार ५ सय नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका थिए । त्यतिबेला उनी न्युज नेपाल नेसनल टेलिभिजनका अध्यक्ष थिए । २०६७ असोज ६ मा बरामद भएको ४० लाख ९१ हजार जाली नोटमा समेत उनी मुछिएका थिए ।

तेस्रो पटक २०७० माघ १० मा ३५ लाख नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेर सजाय भुक्तान गरी छुटेका उनी २०७६ जेठ १० मा ७ करोड ६७ लाख ९४ हजार नक्कली भारतीय रुपैयाँसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

यो घटनामा उनलाई दोषी ठहर गर्दै ६ वर्ष कैद ६० हजार रुपैयाँ जरिवाना र १३ सय रुपैयाँ क्षतिपूर्तिको सजाय भएको थियो । ६ वर्ष कैद भुक्तान गरेर छुटे लगत्तै सीआईबीले उनलाई नियन्त्रणमा लिएको थियो ।

युनुस अन्सारी बाराका पूर्वमन्त्री एमाले नेता सलीम मिया अन्सारीका छोरा हुन् । उनी पहिलो पटक पक्राउ पर्नुअघि काठमाडौंमा एक निजी टेलिभिजनका सञ्चालक थिए । तर, पक्राउ परेसँगै उनको टेलिभिजन बन्द भएको थियो । अनुसन्धान अधिकारीहरुका अनुसार अन्सारी नेपालमा नक्कली भारतीय नोट भित्र्याउने मुख्य व्यक्ति हुन् ।

प्रहरीको दाबीअनुसार भारतको जाली नोट तस्करीमा संलग्न भएकै कारण युनुस अन्सारी भारतीय सुरक्षा अधिकारीको टार्गेटमा थिए । ६ असोज ०६७ मा विमानस्थलबाट बरामद भएको करिब ४१ लाख नक्कली भारतीय रुपैयाँ पनि उनकै संलग्नतामा भित्रिएको दाबी गरिएको थियो । अन्सारी पहिलो पटक १८ पुस ०६६ मा नक्कली भारतीय रुपैयाँ र साढे ३ किलो खैरो हिरोइनसहित पक्राउ परेका थिए । तर, जेलभित्रै रहँदा पनि उनको कारोबार रोकिएको थिएन ।

भारतीय पक्षले अन्सारीले पाकिस्तानी गुप्तचर संस्था आईएसआईका लागि काम गरिरहेको दाबी गरेको थियो । अन्ततः २६ फागुन ०६७ मा उनीमाथि कारागारभित्रै गोली हानी हत्या गर्ने प्रयास भयो । तर, सुटर जसजित सिंहले बोकेको कट्टुमा लुकाएर लगेको बन्दुक पहिलो प्रयासमा पड्किएन ।

गोली ननिस्कँदाको करिब ५ सेकेण्ड मौका पाउँदा अन्सारीले लुक्ने मौका पाएका थिए । त्यसपछि बाहिर आएर बन्दुक फ्यालेर उनले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । पछि अन्सारीमाथि अन्डरवर्ल्ड डन बब्लु श्रीवास्तवले गोली हान्न सजित सिंहलाई लगाएको सार्वजनिक भएको थियो ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७