कांग्रेस सांसद बजगाईंको दावी : पर्यटन मन्त्रीले करोड घुस लिएर क्यासिनोकाे लाइसेन्स बाँडे


२०८१ कार्तिक २७ मंगलबार ०४:१८ बजे

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले आफ्नै पार्टीका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले करोड रकम लिएर क्यासिनोको लाइसेन्स बाँडेको आरोप लगाएका छन् । पर्यटन व्यवसायी समेत रहेका गोरखा–१ बाट निर्वाचित सांसद बजगाईले भैरहवास्थित रोयल टाइगर रिक्रियसन प्रालिलाई क्यासिनो सञ्चालन इजाजतपत्र दिँदा आफ्नैै पार्टीका मन्त्री पाण्डेले घुस खाएको आरोप लगाएका हुन् ।

सांसद बजगाईले क्यासिनो सञ्चालन अनुमतिपत्र समेत सार्वजनिक गरेका छन् । क्यासिनो सञ्चालकले भैरहवाको क्यासिनो अनुमतिका लागि आफूले करोड करोड रकम बुझाएको प्रमाण उपलबध गराएको समेत दावी गरेका छन् ।उनले भनेका छन्, ‘मन्त्रीले कांग्रेस नेताको घरमा पैसा पठाउन निर्देशन गर्‍यो । उपरोक्त नेताले त्यो पैसा फिर्ता पठायो। मन्त्री भ्रष्ट क्यान कर्मचारी हटाउन चाहन्थें सभापति र उहाँको परिवारले दिएनन् भन्दै हिँड्छ । यो झुट हो किन भने सभापति, गृह, परराष्ट्रमन्त्री आफै क्यान छुट्याउने विषयमा प्रधानमन्त्रीलाई ब्रिफिङ गर्दै गर्दा १५ सांसद साक्षी छौं ।’
सांसद बजगाईले पर्यटनमन्त्री असफल, असक्षम भएको भन्दै हवाई टिकट कालोबजारीविरुद्ध माइतीघरमा प्रदर्शन समेत गरेका थिए । बजागाईले पेस गरेको प्रमाणले पाण्डे मन्त्री भएपछि साउनमा क्यासिनोले अनुमति पाएको देखिन्छ।

उसो त टाइगर प्यालेस होटल आफैमा विवादित छ । सार्वजनिक जग्गा मिचेर बनाएको होटलको विक्री तथा हक हस्तान्तरण नगरी यथास्थितिमा राख्न अदालतले आदेश दिएको छ । तर केही कांग्रेस नेताको रोहबरमा बुद्धि सुवेदीलगायत गैरआवासीय नेपालीहरूको एउटा समूहले विदेशमै सो होटल किनबेच गरेको थियो । त्यसमा अनुसन्धान गर्न अख्तियारले राष्ट्र बैंकले निर्देशन समेत दिएको छ ।

सोही होटललाई क्यासिनो अनुमतिपत्र दिँदा मन्त्रीले करोड करोड घुस लिएको आरोप सांसद बजगाईले लगाएका छन् । सो होटलको क्यासिनोले रोयल्टी नबुझाएपछि तत्कालीन मन्त्री प्रेम आलेले बन्द गराएका थिए । रोयल्टी नतिरी विदेश भाग्न लागेका क्यासिनो सन्चालक माइक बोल्सेभरलाई विमानस्थलबाट फर्काएर रोयल्टी तिराइएको थियो ।

केही दिनअघि मन्त्री पाण्डेले सभापति शेरबहादुर देउवालाई भेटेर सांसद बजगाईलाई सम्झाइ दिन भनेको स्रोत बताउँछ । मन्त्री पाण्डेले कांग्रेसका कुन नेताको घरमा पैसा पठाउन लगाए भन्ने सांसद बजगाईले खुलाएका छैनन् ।मन्त्री पाण्डेमाथि पर्यटन बोर्डको सिइओ नियुक्तिमा समेत पैसा खाएको आरोप छ । यद्यपी पाण्डेले भने गुटको नेताले भनेर नियुक्ति गरेको भन्दै पैसा आफूले नलिएको जिकिर गरेको बताइन्छ ।


लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७