संस्थापक शेयर बेच्नुअघि १५ दिन पहिले सार्वजनिक सूचना दिन सेबोनको निर्देशन
काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेप्सेमा सूचीकृत कम्पनीका आधारभूत शेयरधनीले आफूले धारण गरेको ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुअघि १५ दिन अगावै सार्वजनिक सूचना दिनुपर्ने व्यवस्था गरेको छ। बोर्डले सूचीकृत कम्पनीहरूलाई निर्देशन जारी गर्दै आधारभूत शेयरधनीले ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुअघि अनिवार्य रूपमा जानकारी गराउनुपर्ने व्यवस्था गरेको हो।
आधारभूत शेयरधनीबाट प्राप्त उक्त जानकारी कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मार्फत सार्वजनिक गर्नुपर्नेछ। यसरी सार्वजनिक गरिएको सूचनाको वैधता तीन महिनासम्म कायम रहने बोर्डले स्पष्ट पारेको छ। अर्थात्, ५ प्रतिशत वा सोभन्दा बढी शेयर बिक्री गर्ने आधारभूत शेयरधनीले पूर्वसूचना सार्वजनिक भएको तीन महिनाभित्र शेयर बिक्री गरिसक्नुपर्नेछ। उक्त अवधिमा शेयर बिक्री नभए पुनः निर्धारित प्रक्रिया पूरा गर्नुपर्नेछ।
सेबोनको नयाँ व्यवस्थाले बजारमा शेयरको आपूर्ति बढ्ने र त्यसले बजारमा नकारात्मक प्रभाव पार्न सक्ने भन्दै लगानीकर्ताले चिन्ता व्यक्त गरेका छन्। लगानीकर्ता छोटेलाल रौनियारले अहिले बजारको मनोविज्ञान कमजोर रहेकाले नयाँ नियम थप्नेभन्दा विद्यमान व्यवस्थालाई सहज बनाउनुपर्ने बताए। ‘अहिले बजारमा साइकोलोजी कमजोर भएको बेला बोर्डले नियम थप्नेभन्दा पनि भएका नियमलाई सहज बनाउनुपर्ने हो। त्यसो भयो भने बजारमा केही सकारात्मक असर पर्छ,’ उनले भने।
अर्का लगानीकर्ता तारा फुल्लेलले बजारमा थप शेयर आपूर्ति हुने पूर्वसूचनाले सकारात्मकभन्दा नकारात्मक प्रभाव पार्न सक्ने बताए। ‘सेबोनले सकारात्मक सोचेर नै ल्याएको होला तर अहिलेको बजारमा सप्लाइ आउँदा नकारात्मक असर गर्छ,’ उनले भने। नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले पनि अहिले नै शेयरको आपूर्ति बढी रहेको अवस्थामा थप आपूर्ति हुँदा बजारमा नकारात्मक असर पर्न सक्ने बताए। उनले सेबोनले माग बढाउने खालका नीति ल्याउनुपर्नेमा अनावश्यक काम गरिरहेको आरोप लगाए। ‘अहिले सप्लाइ नियन्त्रण गर्ने र डिमान्ड क्रिएट गर्ने समय हो। तर, बोर्डले त्यसो गर्न सकेको छैन,’ उनले भने।
.gif)

.png)

